Monday, September 30, 2024

फोहोरले पुरिँदै ताल

धनगढी–संरक्षणको अभावका कारण यहाँ रहेका प्राकृतिक तालहरू पछिल्लो समय फोहोरले पुरिँदै जान थालेका छन्।

धनगढी उपमहानगरपालिकाले ८ मंसिरमा जाखोर ताल सरसफाइ अभियान नै सुरु गरेको थियो। तर,जाडोले गर्दा अभियान स्थगित गरेको उपमहानगरले जनाएको थियो।फागुनबाट सुरु गर्न भनिएको अभियान वैशाख लाग्दा समेत जाखोर ताल सरसफाइमा कुनै चासो देखाएको छैन।

धनगढीको जाखोर तालमा जलकुम्भी तथा फोहोरका कारण कुरूप बन्दै जाँदा पनि वनस्पति अनुसन्धान केन्द्र,कैलाली र धनगढी उपमहानगरपालिकाले एकअर्कोको मुख हेराहेर गर्न तर,ताल संरक्षण गर्नमा कुनै चासो देखाएका छैनन्।

वनस्पति अनुसन्धान केन्द्र,कैलालीले ताल संरक्षण गर्न आफूसँग बजेट नभएकोले स्थानीय तहसँग सहकार्य गरे पनि स्थानीय तहले सहयोग नगरेको बताएको छ।

‘हामीसँग अहिले ताल संरक्षण गर्न कुनै बजेट छैन। तर,ताल संरक्षण गर्न स्थानीय तहदेखि केन्द्रसम्म सहयोग मागेका छौँ,’ वनस्पति अनुसन्धान केन्द्र सूचना अधिकारी सुवेक्षा शर्माले भनिन्।

उपहमनगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख टंक विष्टले फागुनबाट पुन सरसफाइ अभियान सुरु गर्न भनिएता पनि अहिलेसम्म कुनै मिति तय नभएको बताए।

स्थानीय महिलाहरूलाई ताल भोगचलन गर्ने दिएको बेला महिलाहरूले महिनाको एक पटक ताल सरसफाइ गर्ने गरेको उनले बताए।यो ताल झन्डै १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यस तालमा विभिन्न प्रजातिका माछा, कछुवा छन्, भने कमलको फुल पनि फुल्ने गर्छ।

त्यसैगरी विश्व रामसार सूचीकृत घोडाघोडी ताल पनि सरसफाइका अभावमा कुरूप बन्दै जान थालेको छ।

घोडाघोडी ताल

करिब १३८ हेक्टर क्षेत्रफलमा रहेको घोडाघोडी ताल क्षेत्रको सरसफाइ नहुँदा ताल कुरूप बन्दै जान थालेको हो।

घोडाघोडी तथा जाखोर ताल रहेको जलकुम्भीे तथा जथाभावी फालिने फोहोरले ताल पुरिँदै र प्रदूषित बन्दै गएका छन्।
यी दुवै ताल धुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकले तालमा पानी भन्दा जलकुम्भी र फोहोरले ताल पुरिन लागेको गुनासो गर्दौ आएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार