Friday, October 18, 2024

पत्रपत्रिकामा आजःसडकमा सास्तीः ठेक्का सम्झौता सकियो, निर्माण भएन, सवा तीन अर्बको चिया निर्यात

काठमाडौं – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

कान्तिपुर
-आजको कान्तिपुरमा सडकमा सास्तीः ठेक्का सम्झौता सकियो, निर्माण भएन भन्ने शिर्षकमा विमल खतिवडाको समाचार छापिएको छ । पानी पर्नासाथ सडक हिलाम्मे बन्छन् । जब घाम लाग्छ, सडक रूप फेरिएर धुलाम्य हुन्छ । यो समस्या अहिले जताततै छ । सडक निर्माणका कारण खाल्डाखुल्डी बढी छन् । कतै निर्माण सामग्री थुपारेर सडक साँघुरिएका छन त कतै खाल्डखुल्डी बढी भएकाले पानी पर्न साथ ताल बन्ने गर्छ । राजधानीमा अधिकांश सडक निर्माण क्रममा छन् । तर निर्माण सुरु भएको समयावधि सकिँदासमेत सडकले पूर्णता पाउन सकेको छैन ।

-४ भूकम्प बेहोरेका सम्पदा भन्ने शिर्षकमा प्रदीप मेन्याङ्बो, रमेशचन्द्र अधिकारीको समाचार छापिएको छ । सुनसरी र धनकुटा — श्री ३ जंगबहादुर राणाको उदयलगत्तै साबिक धनकुटाको मौनाबुधुक ९चौबिसे गाउँपालिका–७० का अदलसिंह चेम्जोङ काठमाडौं उपत्यकातिर लागेका थिए ।उनलेजंगबहादुरलाई भेट्न खोज्नाको एउटै कारण थियो–आफ्नो काँचो इँटा प्रयोग गरेर बनाइएको घरमा खरको साटो झिंगटीको छानो लगाउन अनुमति लिनु । नभन्दै अदलसिंहले जंगबहादुरको दर्शन पाए र अनुमति पनि । यति काम पूरा गर्न उनलाई झन्डै एक वर्ष लाग्यो ।

अन्नपूर्ण
-आजको अन्नपूर्णमा बगरको तरबुजा खेतीले लाखौं आम्दानी भन्ने शिर्षकमा शम्भु यादवको समाचार छपिएको छ । कर्जन्हा नगरपालिका ६ बेतहाका श्याम महतो गाउँछेउकै कमला खोलाको बगरमा यसवर्ष पनि तरबुजा खेती लगाएका छन्। उनी यतिबेला बिहानैदेखि बगरमा जाने र तरबुजा टिपेर व्यापारीलाई बेच्ने काममा व्यस्त हुन्छन्। चार बिघा जग्गामा लगाएको तरबुजाले उनी वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्छन्।

नागरिक
-आजका नागरिकमा डिपिआर ढिलाइले निर्माण कार्य प्रभावित भन्ने शिर्षकमा खम्म खत्रीको समाचार छापिएको छ । सुदूरपश्चिमको अछाममा निर्माणाधीन बुढीगंगा जलविद्युत् आयोजनाको डिपिआर निर्माण ढिलाइले आयोजना प्रभावित भएको छ। आयोजनाको २०५२ देखि अध्ययन सुरु भएको थियो। १८ महिनाभित्र डिपिआर सक्ने गरी अस्ट्रेलियन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीले २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत् आयोजनाको डिपिआर तयार गर्ने जिम्मा पाएका थिए। डिपिआर तयार नभएपछि आयोजनाको टेन्डर प्रकृया अगाडि बढ्न सकेको छैन।

-यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा भन्ने शिर्षकमा ध्रुव दङ्गालको समाचार छापिएको छ । चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ। तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुक्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउने उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ।

-सवा तीन अर्बको चिया निर्यात भन्ने शिर्षकमा दिलीप पौडेलको समाचार छापिएको छ । अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको बेला चियामा भने स्वदेशी बजारको माग धानेर विदेश निर्यात भएको छ। चिया खेती विस्तारसँगै उत्पादन वृद्धि भएपछि निर्यात बढेको हो। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार वार्षिक सवा तीन अर्ब रुपैयाँको चिया निर्यात भएको छ। पछिल्ला पाँच वर्षमा चिया उत्पादन र निर्यात ह्वात्तै बढेको छ।

राजधानी
-आजका राजधानीमा मार्सी धान जोगाइने भन्ने शिर्षकमा शुभाकर विश्वकर्माको समाचार छापिएको छ । विश्वको सबैभन्दा अग्लो स्थान जुम्लाको छुमचौर ज्युलोमा फल्ने काली मार्सी धान संरक्षण गर्न यहाँको पातारासी गाउँपालिका सक्रिय भएको छ । विभिन्न कारणले लोप हुने खतरामा रहेको मार्सी धान संरक्षणमा पातारासी गाउँपालिकाले सक्रियता देखाएको हो । कुनै बेला मार्सी धानले झुल्ने छुमचौर ज्युलो अहिले बाँझो बन्दै गएको छ । मार्सी धानले खान नपुग्ने भएपछि यहाँका स्थानीयले अहिले धान लगाउन नै छोडेका छन् ।

-स्वदेशी चिया आत्मनिर्भर उन्मुख भन्ने शिर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ । विगत केही वर्षअघिको तुलनामा पछिल्लो समय स्वदेशी चिया आत्मनिर्भर उन्मुख भएको छ । करिब ९ खर्बको व्यापार घाटा रहेको वर्तमान परिप्रेक्ष्यमा नेपाली चियाक्षेत्र आत्मनिर्भर उन्मुख भएको हो । सरकारले स्वदेशी चियामा उत्पादन र प्रशोधनमा राम्रो व्यवस्थापन गर्ने हो भने स्वदेशी चिया छिट्टै आत्मनिर्भर हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार