सरकारले बजेट नछुट्याउँदा एक वर्ष पर धकेलियो गैँडा गणना

काठमाडौँ – प्रत्येक चार वर्षमा हुँदै आएको गैँडा गणना बजेट अभावका कारण एक वर्ष पर धकेलिएको छ। सरकारले बजेट नछुट्याएको कारण यस वर्ष गरिने भनिएको गैँडा गणना एक वर्ष पर धकेलिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

प्रत्येक चार वर्षको अप्रिल र मे महिनामा गर्दै आइएको गैँडा गणना बजेटकाे अभावमा यो वर्ष हुन नसकेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठ बताउँछन्।

‘गैँडा गणनाका लागि १ करोड नौ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका थियौँ, उनले भने, तर, उक्त रकम जम्मा गर्न सकिएन।’

विभागले सरकारले बजेट नछुट्याए पनि दाताहरूको सहयोगमा भए पनि यसै वर्ष गैँडा गणना गर्ने बताएको थियो। तर, दाताहरूले ६० प्रतिशत मात्र रकम उपलब्ध गराउने भएपछि यो वर्ष गणना गर्न नसकिएको श्रेष्ठले बताए।

उनका अुनसार बजेट अभावका साथै पानी परिरहेको र गणना गर्ने स्थानमा बढी घाँस उम्रिएको कारण गैँडा गणना एक वर्ष पर धकेलिएको हो।

उनले गैँडा संरक्षण कार्ययोजनामा प्रत्येक ४ देखि ५ वर्षमा गणना गर्ने भनिएकाले यस वर्ष नभए अर्को वर्ष हुने दाबी गरे।

डब्लुडब्लु एफ, प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लण्डन लगायतका दाताहरुले सहयोग गरे पनि सरकारको सहयोग आवश्यक पर्ने भएकाले अर्को वर्ष सरकारले नै शतप्रतिशत बजेट छुट्याउने प्रस्ताव मन्त्रालयमा पेश गरिएको श्रेष्ठको भनाइ छ।

श्रेष्ठका अनुसार गैँडा गणनाका क्रममा १७० जना जनशक्ति र ३५ हात्ती परिचालन गरिनेछ। यसका अतिरिक्त विभिन्न उपकरण, सवारीसाधन, हात्तीको खुराक, भत्तालगायतमा खर्च हुने गर्दछ।

यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो। गत वर्षको वर्षातमा बाढीले धेरै गैँडा बगाएको र चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ९ महिनाको अवधिमा ४१ गैंडा मृत फेला परेका थिए। त्यसैले यो वर्षको गणनालाई महत्वका साथ हेरिएको थियो।

पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैँडा रहेका छन् जसमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा मात्रै रहेका छन्। त्यस बाहेक पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गैँडा पाइन्छ।

ताजा समाचार

सम्बन्धित समाचार