भेरी–बबई डाइभर्सन आयोजना : सुरुङ बन्यो, बनेन ब्यारेज र पावरहाउस

बबई – सुर्खेतको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण तोकिएको समय भन्दा एक वर्ष पहिले नै सकिएको छ।

२०७६ साल चैत १५ सम्म सुरुङ निर्माण पुरा गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक ०७४ कार्तिक मसान्तदेखि टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरेर खन्न सुरु गरिएको थियो।

करिब १२ किलोमिटर लामो सुरुङ मध्ये अब जम्मा दुई मिटर मात्र खन्न बाँकी छ। वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङ ब्रेक थ्रु गर्ने तयारी भइरहेको छ।

सुरुङ निर्माणको काम एक वर्ष पहिले नै सकिए पनि ब्यारेज र पावर हाउस निर्माण प्रकृया भने सुस्त छ। ब्यारेज र पावर हाउसको निर्माण प्रकृया सुस्त भएका कारण सिचाई सुविधा विस्तार र विद्युत उत्पादनका लागि कम्तीमा तीन वर्ष पर्खनु पर्ने आयोजनाको भनाइ छ।

सिचाई विभाग र मन्त्रालयका कारण ब्यारेज र पावर हाउस निर्माण प्रकृयामा करिब ६ महिना ढिलाइ भएको हो । आयोजनाले छिट्टै ब्यारेज र पावर हाउसको निर्माणका लागि ग्लोबल टेन्डर गर्ने तयारी गरिरहेको आयोजनाका सिनियर डिभिजनल हाइड्रोजुओलिष्ट कृष्ण प्रसाद उपाध्यायले बताए।

नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्ने काम सुरु गरिएकाले सुरुङ खन्ने क्रममा आउन सक्ने समस्याहरुको आँकलन गरी सुरुङ निर्माणका लागि २ वर्ष लाग्ने अनुमान गरेको थियो। सुरुङ निर्माण हुने समयको आँकलन कै आधारमा ब्यारेज र पावर हाउसको निर्माण प्रकृया अगाडि बढाएको थियो।

सुरुङ निर्माणको काम १ वर्ष पहिले नै सकिए पनि सो अनुरुप ब्यारेज र पावर हाउसे निर्माणलाई सिचाई विभाग र मन्त्रालयले गति दिन नसकेका कारण निर्माण भइसकेको सुरुङ तीन वर्षसम्म प्रयोगविहीन हुने देखिएको छ । उक्त सुरुङ सञ्चालनका लागि लागि थप तीन वर्ष अर्थात आर्थिक वर्ष ७९/८० सम्म पर्खनु पर्ने देखिएको छ।

राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनामा भएको अनियमिताको छानविनका क्रममा सिचाई विभागका महानिर्देशक सहित इन्जिनियर तथा परामर्शदाताहरु माथि अख्तियारले मुद्दा चलाएका कारण विभाग र मन्त्रालय तहबाट गर्नु पर्ने निर्णयहरुमा धेरै समय लागेको आयोजनाका सिनियर डिभिजनल हाइड्रोजुओलिष्ट उपाध्यायले बताउँछन्।

सुर्खेतको भेरी नदीको पानी सुरुङ मार्फत बबई नदीमा खसालेर ४६.८ मेगावाट विद्युत उत्पादन गर्ने र बर्दिया र बाँकेको करिब ५१ हजार हेक्टर जमिनमा सिचाई सुविधा बिस्तार गर्ने उद्देश्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निर्माण कार्य सुरु भएको हो।

भेरी नदीमा सुख्खायाममा पनि करिब ७५ क्युमेक्स पानी हुन्छ । भेरीको पानी मध्ये करिब ४० क्युमेक्स पानी मात्रै सुरुङ मार्फत बबईमा खसालेमा ४६.८ मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भने बर्दिया र बाँकेको करिब ५१ हजार हेक्टर जमिनमा सिचाई उपलब्ध गराउन सकिनेछ।

आयोजनाबाट सरकारलाई वार्षिक तीन अर्ब र उत्पादित विद्युतबाट ४ अर्ब आम्दानी हुने प्रक्षेपण गरिएको छ । साढे १० अर्बमा सम्झौता भएको सुरुङका लागि २०७५ फागुन मसान्तसम्म झण्डै ८ अर्ब खर्च भएको छ।

सिचाई विभागद्वारा संशोधित गुरुयोजना अनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुनेछ। आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष ७९÷८० सम्म सक्ने लक्ष्य छ।

एउटा मात्रै सुरुङबाट भेरीको पानी बबईमा खसाले पनि बर्दिया र बाँकेको करिब ५१ हजार हेक्टर क्षेत्रमा बबई सिचाई आयोजनाको नहरबाट बाह्रै महिना सिचाई सुविधा पुग्ने छ। चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ।

त्यही पानीबाट बबई किनारमा ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुनेछ । विद्युत उत्पादन पछि उक्त पानी बबई नदी हुँदै करिब ४५ किलोमिटर तल पुगे पछि बबई सिचाई आयोजनाको बाँधबाट नहर हुँदै बर्दिया र बाँकेका किसानहरुको खेतबारीमा पुर्‍याइने छ।

बर्दियाको खेतीयोग्य जमिनमा सिचाई सुविधा पुर्‍याउन करिब ३० वर्ष अगाडि अर्थात २०४५/०४६मा बबई सिचाई आयोजना निर्माण शुरु गरिएको हो । बबई सिचाई आयोजनाको मुल नहरको क्षमता करिब ५३ क्युमेक्स पानी संचालन हुने छ।

तर, सुख्खायाम अर्थात चैत, वैशाख तथा जेठमा बबई नदीमा पानीको मात्रा निक्कै कम हुने गरेका कारण नहरबाट ५ क्युमेक्स मात्रै पानी संचालन हुन्छ। जसका कारण नहर भए पनि बर्दियाका किसानले सिचाईका लागि पर्याप्त पानी पाउन सकेका छैनन्।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना सञ्चालन भए पछि सुख्खायाममा पनि बर्दिया र बाँकेका किसानहरुले सिचाईका लागि पर्याप्त पानी पाउने छन्।

ताजा समाचार

सम्बन्धित समाचार