काठमाडाैँ – जलविद्युत् आयोजनाका विशाल बाँध र सिँचाइ नहरका कारण नेपालमा माछाको संख्या घट्दै गइरहेको एक अध्ययनले देखाएको छ।
एशियाली विकास बैंक (एडिबी) ले विहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका विभिन्न नदीमा निर्मित एवं निर्माणाधीन जलविद्युत् आयोजनाका बाँध र सिँचाइ परियोजनाका कारण जलचरको सङ्ख्यामा कमी आएको छ।
राजधानीमा आयोजित एक कार्यक्रममा उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले जलचर र पर्यावरण संरक्षणमा विकास–निर्माणका कार्य गर्दा ध्यान दिनुपर्ने बताए।
एडिबीका दीपकबहादुर सिंह, दीपबहादुर स्वारलगायतको टोलीले गरेको उक्त अध्ययनले देशभर भइरहेको बाँध तथा नहर निर्माणका कारण माछाका निम्ती खेल्ने र पौडनेस्थानको अभाव भएकोले माछाको संख्यामा कमी आएको जनाएको छ ।
त्यसका साथै देशभर २३३ बाँध निर्माण भएको र उक्त बाँधले गर्दा माछाका लागि खेल्ने, पौडने तथा प्रजनन गर्ने स्थानको अभाव भएकाले जलचर संरक्षणतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्ने आवश्यकता रहेकाे समेत प्रतिवेदनले औँल्याएको छ।
उक्त अध्ययन कालीगण्डकी, मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, कुलेखानी, खिम्ती र त्रिशूली जलविद्युत् आयोजना तथा बबई सिँचाइ परियोजनामा केन्द्रित रहेर गरिएको अध्यननमा संलग्न सिंहले बताए।
हाल नेपालमा २३२ प्रजातिका माछा पाइन्छ।





