यसरी मनाइँदै छ २४ औँ वन्यजन्तु सप्ताह

काठमाडौँ – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २४ २४ औं वन्यजन्तु सप्ताह आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म मनाउने भएकाे छ। विभागले ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने नाराका साथ मनाउन लागिएकाे सप्ताहकाे  विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ।

सप्ताहको पहिलो दिन वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले रेडियो सन्देश दिनेछन्। विभागले वन्यजन्तु संरक्षण सम्बन्धि होर्डिङ बोर्ड राख्ने कार्यक्रम तय गरेको छ।

विभागले वन्यजन्तु सप्ताहको दोस्रो दिन प्रतिनिधि सभा प्राकृतिक श्रोत संरक्षण समितिका सांसदहरूको चितवन राष्टिय निकुञ्जको अवलोकन, छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। त्यसका साथै सदर चिडियाखाना अवलोकनको कार्यक्रम रहेको छ।

तेश्रो दिन माईतीघर मण्डलामा कक्षा ९ देखि १२ कक्षाका विद्यार्थीबीच चित्रकला प्रतियोगिताको कार्यक्रम रहेको छ भने चौथो दिन पंक्षी संरक्षण संघ नेपालको संयोजनामा भक्तपुरको सूर्यविनायकमा चरा अवलोकन कार्यक्रम राखिएको छ।

पाँचौ दिन विभागले पाटन दरबार क्षेत्रमा सरसफाई कार्यक्रम राखेको छ। छैठौ दिन विश्व वन्यजन्तु कोष नेपाल, हरियो वन कार्यक्रम तथा एम्बिसन एकेडेमीको व्यवस्थापनमा वरिष्ठ कवि/कवियात्रीबाट ‘वन्यजन्तु संरक्षणको लागि सहकार्य’ भन्ने शीर्षकमा कविता वाचन कार्यक्रम आयोजना गरिएको छ।

सातौ दिन विश्व वन्यजन्तु कोष, हरियो वन कार्यक्रमसँगको सहकार्यमा बबरमहल, वाइल्डलाइफ फ्रेण्डली इन्फ्रास्टक्चर मोडल तयार गरी प्रर्दशन तथा हस्तान्तरण गर्नुका साथै औपचारिक रुपमा कार्यक्रम समापन गरिनेछ । यसका अलावा नेपालका वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा विशेष योगदान पु्‍र्‍याउने संरक्षणकर्मी तथा संस्थालाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेकाे विभागले जनाएकाे छ।

विभागका अनुसार वन्यजन्तुको सप्ताहको मुख्य उद्देश्य वन्यजन्तुको संरक्षण जनचेतना अभिृद्धिको हो। २०५३ साल देखि विभागको नेतृत्वमा निरन्तर हरेक वर्ष नयाँ वर्षको पहिलो सप्ताहसम्म संरक्षणमा जनसहभागिता जनाउन वन्यजन्तु सप्ताह मनाइँदै आएको छ। वन्यजन्तु सप्ताह केन्द्र सहित सबै संरक्षित क्षेत्रहरूमा मनाइन्छ।

ताजा समाचार

सम्बन्धित समाचार