Tuesday, October 1, 2024

कैलाली : साढे तीन हजार हेक्टरमा सिँचाइ पुर्‍याउन ४५ आयोजना

धनगढी–कैलालीमा सिँचाइका लागि करिब १० करोड रुपैयाँ लागतका ४५ योजना सञ्चालनमा छन्। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीले खेतीयोग्य जमिनमा पानी व्यवस्थापन गरी कृषिमा उत्पादन वृद्धिका लागि विभिन्न ठाउँमा योजना सञ्चालन र विस्तार गरेको हो।

जिल्लामा ४५ सिँचाइ योजनाका लागि यो वर्ष करिब १० करोड ३२ लाख ७ हजार बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीका डिभिजन प्रमुख अमरबहादुर पालले बताए।

कैलालीमा नयाँ र क्रमागत गरी ४५ सिँचाइ योजना सञ्चालनमा रहेको उनी बताउँछन्। क्रमागत तर्फ गोदावरी नगरपालिका ५ मा निर्माण भैरहेको मोहना सिँचाइ योजनाले कैलाली र कञ्चनपुरको दुई हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने पालले बताए।

प्रतापपुर धोवीयाबाँध–चौरी सिँचाइ योजना प्रतापपुरले ९ सय  हेक्टर, बहुलीया नीमकोट ताल सिँचाइ योजना धनगढी उपमहानगरपालिका १९ मा ६६ हेक्टर, ठूलोखाली निगाली ३२ हेक्टर, पिरुवा सिँचाइ योजना दोदोधरा २ मा २१० हेक्टर, बन्देगाडा सियो गोदावरीमा २ सय ५ हेक्टर, भक्तपुर सिँचाइ योजना १ सय ३५ गरी तीन हजार पाँच सय ४८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने प्रमुख पालले बताए।

त्यस्तै ३८ नयाँ सिँचाइ योजना सञ्चालनमा रहेका छन्। नयाँ कुलो निर्माण तथा पुरानो  कुलोको पुननिर्माण गरी खेतसम्म सिँचाइ सुविधा पुर्याउने व्यवस्था भैरहेको प्रमुख पालले बताए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा कुल ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमिन रहेकोमा ३० लाख ९१ हजार हेक्टर जमिनमा मात्र खेती गरिँदै आएको छ। बाँकी १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन सिँचाइको अभावमा बाँझो हुने गरेको मन्त्रालयको तथ्याङ्क छ।

ताजा समाचार

सम्बन्धित समाचार