Tuesday, October 1, 2024

पञ्चवर्षीय योजनाः जमिनको उत्पादकत्व प्रतिहेक्टर ५३३९ डलर पुर्‍याइने

काठमाडौँ–आगामी पाँच वर्षमा खेतीयोग्य जमिनको उत्पादकत्व प्रतिहेक्टर ५ हजार ३ सय ३९ डलर पुर्‍याउने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरिएको छ।

राष्ट्रिय परिषद्बाट २१ चैतमा पारित भएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को आधारको रुपमा तयार पारिएको १५ औं पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७६-०७७ देखि २०८०-०८१) सम्मको विकासको योजनामा कृषि क्षेत्रमा मुलुक आत्मनिर्भर रही कृषि क्षेत्रको व्यापार सन्तुलन  कायम हुने अपेक्षा राखिएको छ।

जसअनुसार पाँच वर्ष अर्थात् आर्थिक वर्ष २०८०-०८१ सम्म प्रमुख बालीको उत्पादन प्रतिहेक्टर ४।५  मेट्रिक टनसम्म कायम हुने लक्ष्य राखिएको छ। पाँच  वर्षमा कृषि श्रमको उत्पादकत्व प्रति श्रमिक १ हजार २ सय ६० डलर रहने लक्ष्य समेत राखिएको छ।

सङ्घ, प्रदेश र स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालाको समन्वय तथा सहकार्यमा कृषि सम्बन्धी नीति, कानून तथा योजना निर्माण गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि हुने आयोगको ठम्याइ छ। जसका लागि सङ्घीय र प्रादेशिक र स्थानीय तहको कृषि अनुसन्धान र विकासमा क्षमता वृद्धि गरिने छ, भने  तीन वटै तहबीच नीति, कानून र योजना निर्माणमा समन्वय र सहजीकरणका लागि संयन्त्रको परिकल्पना गरिएको छ।

यसैगरी, सङ्घीय संरचनामा तीनवटै तहका लागि उपयुक्त मोडेल तयार गर्न नीतिगत, संरचनागत तथा मानव संशाधन व्यवस्थापनमा सुधार गरिने कार्ययोजनामा उल्लेख छ।

यसरी,  खाद्य र पोषण सुरक्षा तथा खाद्य सम्प्रभुतासहित दिगो, प्रतिस्पर्धी एवम् समृद्ध कृषि अर्थतन्त्रको परिकल्पना गरिएको छ भने  प्रतिस्पर्धी, जलवायु अनुकूल, आत्मनिर्भर एवम् निर्यातमुखी उद्योगको रुपमा कृषिलाई रूपान्तरण गर्दै समावेशी र आर्थिक दिगो विकास लक्ष्य कायम गरिएको छ।

‘जसबाट ‘कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वको वृद्धि गरी खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्नु, कृषिमा आधारित उद्योगको विकास गरी रोजगारी र आम्दानी वृद्धि गर्नु  तथा व्यवसायिकरण तथा प्रतिस्पर्धात्मक क्षमता विकास गरी कृषि क्षेत्रको व्यापार सन्तुलन गर्नु’ उद्देश्य हो,’ १५औँ पञ्चवर्षीय योजनामा भनिएको छ।

राष्ट्रिय योजना आयोगले तयार पारेको मस्यौदामा बुधबार र बिहीबार दुई दिन छलफल भएपपछि परिषदबाट पारित भएको हो। उक्त मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने योजना आयोगका उपाध्यक्ष पुष्प कँडेलले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार