काठमाडौँ – प्रत्येक चार चार वर्षमा गरिँदै आएको गैँडा गणना यसपाली भने अन्योलमा परेको छ। सरकारले बजेट नछुट्याएपछि एकसिङ्गे गैँडा गणना अन्योलमा परेको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रत्येक चार चार वर्षमा गणना गर्दै आएकोमा यसपाली बजेटको अभाव भएपछि अन्योलमा परेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठ बताउँछन्।
‘चैतको पहिलो साता गैँडा गणनाका लागि उपयुक्त समय हो, तर, बजेटको अभावमा के गर्ने भन्ने निक्र्यौल गर्न सकिएको छैन,’ उनले भने, ‘थोरै भन्दा थोरै खर्च गरेपनि एक करोड नौ लाख लाग्छ।’
उनका अनुसार सरकारले गैँडा गणनाका लागि बजेट नै नछुट्याउनाले अन्योलता श्रृजना भएको हो। यद्यपि विभागले विभिन्न दातृ निकायसँग सहयोगका लागि प्रस्ताव गरेको र उनीहरूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको उनी बताउँछन्। दातृ निकायबाट सहयोग प्राप्त भएमा छिट्टै नै गैँडा गणना शुरु हुने उनको भनाइ छ।
यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो। गत वर्षको वर्षात्मा बाढीले धेरै गैँडा बगाएको र कालगतिका कारण धेरै गैँडा मरेकाले यो वर्षको गणनालाई महत्वका साथ हेरिएको छ। गैँडा गणना गर्न २५ दिनसम्म लाग्ने श्रेष्ठ बताउँछन्।
श्रेष्ठका अनुसार गैँडा गणनाका क्रममा १७० जना जनशक्ति र ३५ हात्ती परिचालन गरिनेछ। यसका अतिरिक्त विभिन्न उपकरण, सवारीसाधन, हात्तीको खुराक, भत्तालगायतमा खर्च हुने गर्दछ।
पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैँडा रहेका छन् जसमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा मात्रै रहेका छन्। त्यस बाहेक पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गैँडा पाइन्छ।





