Tuesday, October 1, 2024

संयुक्त प्रणालीले मौसममा खराबी, शुक्रबार र शनिबार हावाहुरीसँगै पानी पर्ने

काठमाडौँ–नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बङ्गालको खाडीमा विकसित भएको प्रणालीको एकसाथ प्रभाव देखिएको छ। फलस्वरुप शुक्रबार र शनिबार मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको उनले जनाइन्।

पोखरा आसपास विकसित भएको प्रणाली काठमाडौँ हुँदै पूर्वतिर सरिसकेको छ। पोखरादेखि पूर्वतिरको मौसममा खराबी देखिएपनि त्योभन्दा पश्चिमी क्षेत्रको मौसममा खासै प्रभाव नपरेको मौसमविद् पोखरेलले जानकारी दिइन्।

उनका अनुसार शुक्रबार र शनिबार छिनमै मेघ गर्जनसहित पानी पर्ने र लगत्तै घाम लाग्ने देखिन्छ।  यो प्रणालीले पोखरादेखि पश्चिमका क्षेत्रमा खासै असर नगर्ने भएपनि प्रिमनसुनमा छिनछिनमा मौसम परिवर्तन हुने भएकाले पानी पर्ने सम्भावना कायमै रहन्छ,’ उनले भनिन्।

मौसमविद् पोखरेलका अनुसार तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार