Tuesday, October 1, 2024

खानेपानीका पाँचवटा आयोजनामा लगानी गर्ने चिनियाँ कम्पनीको प्रस्ताव

काठमाडौं–चिनियाँ कम्पनी चाइना मेशिनरी इन्जिनियरिङ कर्पोरेशन (सीएमईसी) ले नेपालमा पाँच वटा खानेपानी आयोजना निर्माणका लागि लगानी गर्ने आशयसहितको प्रस्ताव गरेको छ।

१५ र १६ चैतमा भएको लगानी सम्मेलनमा सहभागी हुन आएको सिएमइसी कम्पनीले हालै मात्र प्रधानमन्त्री केपी शर्मा ओली समक्ष थोक वितरण प्रणालीका खानेपानी आयोजना निर्माण गर्ने प्रस्ताव पेश गरेको हो।

खानेपानी मन्त्रालयका अनुसार सीएमईसीले ९० अर्ब लागत अनुमान गरिएका नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनामा चासो देखाएको हो। खानेपानी मन्त्रालयले प्रारम्भिक सम्भाव्यता अध्ययन गरिसकेको ती पाँच आयोजनाको लागत करीब ९० अर्ब रहेको छ, भने करीब ६० लाख जनसंख्या लाभान्वित हुने अनुमान छ।

सीएमईसीका नेपाल प्रतिनिधि विश्वास खतिवडाका अनुसार खानेपानीका यी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन कम्पनी आफैंले तयार गर्नेछ, भने चीन सरकारसँग समन्वय गरी चाइना एक्जिम बैंकमार्फत नेपाल सरकारलाई सहुलीयतपूर्ण ऋण सहायता उपलब्ध गराइने छ। इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन एण्ड फाइनान्स (ईपीसीएफ) मोडालिटीमा आयोजना अघि बढाउने प्रस्ताव गरेको खतिवडाले बताए।

यसैगरी, उक्त कम्पनीले सामाखुसी–टोखा–नुवाकोटको छहरे सडक तथा सुरुङमार्ग र तमोर जलविद्युत आयोजना निर्माणका लागि पनि प्रस्ताव पेश गरेको छ। सडकको लागत करीब २७ अर्ब र तमोर जलविद्युत आयोजनाको लागत करीब डेढ खर्ब अनुमान गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार