पाँचथर – वनमा लागेको डढेलो बस्तीमा पसेपछि पाँचथरको हिलिहाङ गाउँपालिका ३, डाडे टोलका ६ परिवार एक हप्ता देखि घरवार विहीन भएका छन्।
२ चैतमा जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि ६ वटा घरसँगै लाखौं मूल्य बराबरको सम्पति समेत जलेर खरानी भएको हो। पाँचथरका विभिन्न स्थानका जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि यो महिना मात्र आठ वटा घर जलेर खरानी भएको छ ।

यस्तै चैत ९ गते पाँचथरकै फाल्गुनन्द २ र ३ को मारुनी जंगलमा लागेको आगो बस्ती पस्दा स्थानीय लाखमान तामाङ बीरबहादुर तामाङको घर खरानी भयो भने सन्त बहादुर तामाङको गोठ जल्यो।
‘वनमा लागेको डढेलो बस्तीमा आउँदा ६ घर खरानी भयो हामी घरवार विहीन भयौँ, कोही अर्काको घरमा कोही त्रिपाल मुनी बस्न थालेका छौं,’ डढेलो पीडित मनप्रसाद पालुवाङ भन्छन्, ‘हाम्रो अवस्था नाजुक छ भएको घर आगोले खरानी बन्यो अब घर के पैसाले बनाउने?’
पालुङवा जस्तै स्थानीय बेदमाया पौड्यालको पनि अवस्था नाजुक छ। ‘आगोले घर गोठ सबै जले जिउमा लगाएको लुगा बाहेक केही पनि बचेन हामीलाई घरवार विहीन बनायो अब बसाइसर्ने कि त्रिपालमा बस्ने,’ उनी भन्छिन् ।
डढेलोले घरवारविहीन बनाएकालागि केही सहयोग गरे पनि उक्त सहयोग पर्याप्त नभएको हिलिहाङ गाउँपालिकाका प्रमुख भुवानीप्रसाद लिङदेन बताउँछन् ।
‘गाउँपालिकाको तर्फबाट ३०/३० हजार सहयोग र अरु सामाजिक संघ संस्था र व्यक्ति विशेष अन्य भौतिक सहयोग उपलब्ध गराइको छ,’ उनले भने, ‘तर, त्यो प्रयाप्त नभएको र अब गाउँपालिकाबाट घर बनाउन केही सहयोग दिनेकी भन्ने बिषयमा छलफल भइ रहेको छ।’
डढेलोले वर्षेनि वनजंगलसँगै गाउँघरमा ठूलो क्षति पुर्याउने गरेको डिभिजन बनकार्यालय पाँचथरका प्रमुख मेघराज राई बताउँछन् । ‘वनको डढेलो बस्तीमा पसे पछि आगलगीको घटना वर्षेनि बढ्न थालेको छ,’ उनले भने, ‘दुई वर्ष अघि पाँचथरको कुम्मायक गाउँपालिका वडा न ५ स्याबरुम्बामा वनबाट आएको डढेलोले ६ घर र केही गोठ जलेर खरानी बनेको थियो भने यस पटक आठ घर जलेको छ।’

जिल्लाका विभिन्न स्थानमा रहेको व्यक्तिगत तथा सामुदायिक वनहरूमा लाग्ने डढेलो बस्तीमा सल्केर हुने आगलागीको घटना बढ्दै जानु दुःखद भएको उनको भनाइ छ।
अन्य जिल्लामा वनमा आगो लगाउने ब्यक्तिलाई कारबाही भएको उदाहरण भए पनि पाँचथरमा अहिले सम्म नभएको कारण पनि आगो लगाउँदा के नै पो हुन्छ र भन्ने बुझाईका कारण वनमा डढेलो लगाउने मनोवृति बढेको र एक जनालाई मात्र कारबाही गर्न सके यस्ता घटना कमी हुने प्रमुख राईको दाबी छ।
पाँचथरमा वर्षेनि फागुन देखि वैशाखसम्म विभिन्न वनमा लागेको डडेलो बस्तीमा पसेर जनधनको क्षति हुँदै आइरहेको छ। यो वर्ष मात्र सात स्थानमा लागेको डडेलो उम्केको आगोले ८ वठा घर आधा दर्जन चौपाया र केही गोठहरू जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्ता घटनालाई कम गर्न जनचेतना बढाउनु पर्ने र स्थानीय तहबाट बढी पहल गर्नु पर्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरिक्षक नरेन्द्र कुँवरको बताउँछन्।





