Wednesday, October 2, 2024

फागुनमा आगलागीका २९३ घटनाः ६ जनाको मृत्यु, १३० घरमा क्षति

काठमाडौं–फागुन महिनामा विभिन्न प्राकृतिक विपतका घटनामा परी १५ जनाले ज्यान गुमाएको गृहमन्त्रालय, राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।


काठमाडौं महानगरपालिकाका अग्निनियन्त्रकहरू आगलागी नियन्त्रणसम्बन्धि अभ्यास गर्दै।

फागुन १ देखि ३० गतेसम्म भएका ३ सय ५१ वटा घटनामा कुल १३ करोड ९५ लाख ७७ हजार रूपैयाँ बराबरको क्षति भएको केन्द्रको तथ्यांक छ। हिमपहिरो, आगलागी, पहिरो, भारी वर्षा, हिमपात, चट्याङ र वन्यजन्तुको आक्रमण्का कारण ८७ जना घाइते भएका छन्, भने तथा ५ सय ८२ घरपरिवार प्रत्यक्षरूपमा प्रभावित बनेका छन्।

त्यस्तै, एक सय १२ घरमा पूर्ण रुपमा क्षति भएकोमा ४४ घरमा आंशिक रुपमा क्षति पुगेको छ। १ हजार ५ सय ८७ पशुचौंपाया मरेका छन्।

एक महिनाको अवधिमा सबैभन्दा बढी आगलागीका २ सय ९३ घटना भएका छन्। ती घटनामा ६ जनाको ज्यान गएको छ, भने ३० जना घाइते भएका छन्। २२ घर आंशिक र एक सय ८ घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन्। ४ सय ४३ घरपरिवार प्रत्यक्ष प्रभावित बनेका छन्। आगलागीका घटनाका कारण मात्र १३ करोड ६७ लाख ३२ हजारको क्षति भएको केन्द्रको तथ्यांकमा उल्लेख छ। १ सय ७८ पशुचौंपाया मरेका छन्।

फागुनमा महिनामा चट्याङका २९ वटा घटना भएका छन्। चट्याङका घटनामा ४ जनाको मृत्यु भएको छ, भने ३८ जना घाइते भएका छन्। यसैगरी ३ घर पूर्ण रुपमा क्षतिग्रस्त हुँदा ५ घर आंशिक रुपमा क्षतिग्रस्त बनेका छन्, २३ लाख बराबरको धनमाल क्षति भएको छ। चट्याङका घटनाका कारण १६ पशुचौंपाया मरेका छन्।

फागुनमा वन्यजन्तुबाट हुने आक्रमणका घटना १८ वटा भएका छन्। ती घटनामा एक जनाको ज्यान भएको छ, भने ११ जना घाइते भएका छन्। १६ वटा घरमा आंशिक क्षति पुगेको छ, भने २९ घरपरिवार प्रत्यक्ष रुपमा प्रभावित भएका छन्। वन्यजन्तुबाट हुने घटनामा ३ लाख ४२ लाख बराबरको क्षति भएको छ।

फागुनमा भारी हिमापतका कारण ५४ घरपरिवार प्रत्यक्ष रुपमा प्रभावित भए, भने १ हजार ३ सय ८४ पशुचौंपाया मरेका छन्।

एक महिनाको अवधिमा भारी वर्षाका कारण एउटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ, ८ वटा पशुचौंपाया मरेका छन्। भारी वर्षाका कारण २ लाखको क्षति भएको तथ्यांक छ।

फागुनमा ७ स्थानमा पहिरो गएकोमा २ जनाको ज्यान गएको छ, ७ जना घाइते भए। सो अवधिमा हिमपहिरोमा परी २ जनाको ज्यान गएको छ। त्यस्तै, फागुन महिनामा डुंगा दुर्घटनामा एक जना घाइते भएको केन्द्रको तथ्यांक छ।

ताजा समाचार

सम्बन्धित समाचार