काठमाडौं–साविकको भन्दा चार किलोमिटर दूरी घट्ने गरी बनाइएको काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्मा पेश गर्ने तयारी थालिएको छ।
फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालका अनुसार परामर्शदाताले तयार पारेको डीपीआरमा सेनाले केही पुनरावलोकन गरेकोमा अन्तिम डिजाइन भइसकेको छ। डीपीआर दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीले १० करोड १५ लाख रुपैयाँ लागतमा तयार पारेको हो।
सेनाका एक अधिकारीका अनुसार उक्त डीपीआर सम्भवतः यसै साता मन्त्रिपरिषद्मा पेश गरिनेछ, मन्त्रिपरिषद्बाट स्वीकृत भएमा मात्र नयाँ डीपीआर अनुसार निर्माणको काम थाल्न मिल्ने भएकाले सेना त्यसतर्फ अग्रसर देखिन्छ। यसअघि फास्ट ट्रयाकको दूरी ७६ किलोमिटर कायम भएकोमा प्रस्तावित डीपीआरमा चार किलोमिटर दूरी घटेर ७२ किलोमिटरमा झरेको छ।
तर, सुरुङको दुरी भने बढेको छ। द्रुतमार्गको पुरानो डिपिआरमा मकवानपुरको महादेवटारडाँडा नजिकै १.४ किलोमिटर सुरुङ बनाउने उल्लेख थियो। कोरियन कम्पनीले तयार पारेको डिपिआरको ड्राफ्टमा तीन वटा टनेल रहेका छन्।
महादेवडाडामा (छोक्रेडाडा देखि महादेव खोल्सी) ३.३०० किमी, धेन्द्रेमा सिमपानीवेसीदेखि चालिसेखोल्सी १.३७० किमी र लेनडाडामा घट्टेपाखादेखि बादरेखोल्सी १.४०० किमी टनेलको कुल लम्वाई ६.०७ किमी रहेको छ। यसले केहि पुलको सङख्या घटाएको छ भने दुरी करीब ४ किमी घट्ने छ।
यसअघि द्रुतमार्गको डिपिआर तयार पारेको भारतीय कम्पनी आइएल एन्ड एफएसले डिपिआरको मूल्य ६१ करोड रुपैयाँ तोकेको थियो। आयोजना सम्पन्न गर्दासम्म एक खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने अहिलेको अनुमान हो।





