सगरमाथा आरोहरणमा नयाँ नियमहरु लागु गरिने

यस वर्षको सगरमाथा आरोहरणको मौसम शुरु हुनै लाग्दा आरोहीहरुको टोली धमाधाम खुम्वु क्षेत्रतिर लागेका छन् ।

केही वर्षयता विभिन्न कारणले सगरमाथा आरोहरणमा अवरोधहरु आएपनि यस वर्ष भने कुनै पनि किसिमका समस्या नआउने र आरोहीको सुरक्षामा विशेष ध्यान दिइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विहिवारसम्म आरोहरणको लागि अनुमति लिनेहरुको संख्या झण्डै तीनसय पुगेको छ ।

यस पटक आरोहीहरुको सुरक्षाको लागि केही नयाँ नियमहरु वनाइएको र त्यसलाई कडाईका साथ पालन गरिने छ । विशेषत आरोहीहरुको स्वास्थ्य सम्वन्धी कागजताहरुलाई यसपटक निकै कडाईका साथ निरिक्षण गरिने भएको छ । गत वर्षहरुमा स्वास्थ्य सम्वन्धी समस्याका कारण केही आरोहीको मृत्यु भएको गुनासो आएपछि यसपटक त्यसमा विशेष ध्यान दिन लागिएको हो ।

यस भन्दा अगाडीका वर्षहरुमा सरकारले तोकेका सम्पर्क अधिकृतहरुले राम्रोसंग आफ्नो जिम्मेवारी पुरा नगरेको पाइएपछि यस पटक सो समस्या समाधान गर्न विशेष निर्देशन दिइएको पर्यटन मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

मन्त्रालयले आरोहरणमो समग्र अनुगमन गर्न, केही समस्या आईपरेमा त्यसलाई तत्काल समाधान गर्न र विवादहरु उत्पन्न भएमा त्यसलाई निराकरण गर्न विशेष संयन्त्र वनाउने तयारी समेत थालेका छन् । आरोहीहरुले लापरवाही गरेर पर्याप्त मात्रामा अक्सीजनका सिलिन्डरहरु नलगेको पाइएपछि यसपटक पर्याप्त अक्सीजनपछि मात्र आरोहरणको लागि अनुमति दिने मन्त्रालयको तयारी छ ।

गत वर्षहरुको अनुभवको आधारमा अन्य केही नयाँ नियमहरुलाई समेत कडाई गर्ने तयारी सरकारको छ । जस अनुसार सरकारको पूर्व अनुमति विना सगरमाथाबाट प्रत्यक्ष प्रसारण गर्ने तथा अन्य सुचनाहरु प्रवाह गर्न पाइने छैन् । गत वर्ष केही नक्कली आरोहीहरु प्नि फेला परेकोले यस वर्षबाट आरोहरणको प्रमाणपत्र दिने कार्यमा पनि कडाई गरिएको छ ।