काठमाडौं–ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण ‘कालीगढ’ मार्फत थालिएको छ।
१४ माघको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएसँगै मल्लकालीन शैलीमा पुनर्निर्माण थालिएको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुनेछ।
रानीपोखरी पुनर्निर्माणमा ४० जना कालीगढ खटिएका छन्। जसको नेतृत्व उपभोक्ता समितिले गरिरहेको छ।
पढ्नुहाेस्–रानीपोखरी पुनर्निर्माण ‘कालीगढ’मार्फत्ः पानी अड्याउन कालीमाटी र बालुवा
रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेको मापदण्ड अनुसार विशेष ध्यान दिएर रानोपोखरीको पुनर्निर्माण गर्ने बताए। आवश्यकता अनुसार कालीगढको संख्या बढाइने उनले बताए।
काठमाडौं महानगरपाललिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले रानीपोखरीको पुनर्निर्माणका लागि वडाले आवश्यक सबै सहयोग गर्ने बताए।
पुनर्निर्माण प्राधिकरणले रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न प्राधिकरणका कार्यकारी सदस्य डा.चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ।
रानीपोखरी तीन प्याकेजमा निर्माण हुनेछ। रानीपोखरीको पिंध एवं पर्खाल निर्माण उपभोक्ता समितिमार्फत थालिएकोमा रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण र परिसरको सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत् गर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरण, सम्पदा विभागका प्रमुख राजुमान मानन्धरका अनुसार बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गरिनेछ।
यसअघि पुरातत्व विभागले मन्दिर र काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको काम गरिरहेकोमा ‘सम्पदा नास्ने गरी आधुनिक शैली’ अपनाइएको भन्दै तीव्र विरोध भएपछि २०७५ पहिलो साता महानगरपालिकाले वल्र्डवाइड कँडेल केजी केभीसँगको ६ करोड २९ लाखको ठेक्का रद्द गरेको थियो।
विभागले बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण ‘गुजम्ब’ शैलीमा एक करोड ५० लाख लागतमा पुनर्निर्माण गरिरहेकोमा ‘ग्रन्थकुट’ शैलीमा बनाउने गरी प्राधिकरणले दायित्व लिइसकेको छ।





