अनुमति बिना क्रसर उद्योग सञ्चालनमा, अनुगमन गर्दै कैलाली जिसस

कैलाली–जिल्ला समन्वय समिति कैलालीले जिल्लामा सञ्चालित क्रसर उद्योगको अनुगमन गर्ने भएको छ।

जिससले जिल्लामा सञ्चालनमा रहेका क्रसर सञ्चालकलाई अनुमतिसहितको विवरण बुझाउन निर्देशन दिएको थियो। तर, तीमध्ये ३ वटा क्रसर उद्योगले कागजात बुझाएका छैनन। कैलालीमा १२ वटा क्रसर तथा घुम्ती क्रसर छन्।

क्रसर सञ्चालकले कागजात नबुझाएपछि ढुङ्गा, बालुवा, गिट्टी उत्खनन, संकलन तथा घाटगद्दी समितिको बैठकले जिल्लामा सञ्चालनमा रहेका क्रसर मापदण्ड अनुसार चले÷नचलेको लगायत विषयको अनुगमन गर्ने निर्णय गरेको हो।

जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाका अनुसार अब अनुगमन शुरु हुनेछ। समितिको गत आइतबारको बैठकले सम्पूर्ण क्रसर उद्योगलाई अनुमति पत्र, वातावरणीय प्रभाव मूल्यांकन कागजपत्र तथा कार्ययोजनाको कागजपत्रसहित पाँच दिनभित्र समितिमा बुझाउने निर्णय गरेको थियो।

कैलाली जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी योगेन्द्रप्रसाद ओझाका अनुसार जिल्लामा राजेन्द्र के एस जेभी, हेमकुण्ट स्टोन क्रसर इण्डष्ट्रिज, बेहडाबाबा प्रशोधन उद्योग, शर्मा अमर नागार्जुन जेभी, टुण्डी प्रेररा चन्द्रा एण्ड बसन्ता जेभी, एसइडब्लु टुण्डी जेभी, सिउ टुण्डी जेभी, राजेन्द्र केएस जेभी र श्रीपुर कंक्रिट उद्योगले मात्र विवरण बुझाएका छन् ।

त्यस्तै विवरण नबुझाउनेमा कालिका कुमार जेभि,माझसीन सिगका कक्रिंट कम्पनी र चन्द्र बसन्ता क्रसर उद्योग रहेका छन्। जिल्लामा सञ्चालन रहेका क्रसर उद्योग मध्ये कर्णाली क्रसर उद्योग, हेमकुण्ट स्टोन क्रसर उद्योग, श्रीपुर कंक्रिट उद्योग, बालाजी रोडा ढुङ्गा र वेष्टर्न क्रसर उद्योगले मात्र घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा दर्ता छन्।

त्यस्तै गरी जिल्लामा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना अन्र्तगत सञ्चालन भएका क्रसरहरुको पनि कानुनी प्रक्रिया अनुसार सञ्चालनमा रहेको विवरणहरु माग जिससले गरेको थियो।

जिल्लामा रानी जमरा कुलरिया सिंचाइ आयोजना, मोहना पुल–अत्तरिया ६ लेन सडक आयोजना, गेटा मेडिकल कलेज आयोजना र हुलाकी सडक आयोजना लगायतबाट सञ्चालनमा रहेका क्रसरहरुले अनुमतिसहितको पत्र बुझाउन नसकेको जिससले जनाएको छ ।

समितिका अनुसार मोहनापुल अत्तरिया छ लेन सडक आयोजनाअन्र्तगत शर्मा अम्मर नागार्जुन जेभीले गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोलमा, हुलाकी सडक आयोजनाअन्र्तगत टुण्डी प्रेररा चन्द्रा एण्ड बसन्ता जेभी, रानी -जमरा कुलरिया सिचाई आयोजनाअन्र्तगत एसईडब्लु टुण्डी जेभी र सिउ टुण्डी जेभी, उर्मा–पथरी–धुर्जन्ना–डङगोलिया जोड्ने सडकको ठेक्का पाएको राजेन्द्र केएस जेभीले क्रसर सञ्चालन गरेका छन्।तर, चार वटै आयोजनाको ठेक्का पाएका ठेकेदारहरुले आयोजना कार्यालयको पत्र मात्र समितिमा बुझाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार