बाँकेमा लगातार ८ वर्ष औषधि खुवाउँदा पनि हात्तीपाइलेको जोखिम कायमै

नेपालगञ्ज–हात्तीपाइले रोग नियन्त्रण गर्ने उद्देश्यले बाँकेमा सञ्चालन गरिएको हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम अझै प्रभाबकारी बन्न सकेको छैन।

हात्तीपाइलेविरुद्धको औषधि खाँदै नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर।

२०६७ सालदेखि लगातार ८ वर्ष सम्म औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिए पनि त्यसको उपलब्धी निराशाजनक देखिएको छ।

विश्व स्बास्थ्य संगठनको सहयोगमा स्वास्थ्य सेवा बिभागको टोलीले गत वर्ष बाँकेको नेपालगञ्ज, रझैना र बिनौनाका स्थानीयको रगतको नमूना संकलन गरेको अध्ययनमा जिल्लामा करीब १३ प्रतिशतमा हात्तीपाइले पोजेटिभ देखिएको छ।

बाँकेमा २०७२ सालमा १६ प्रतिशतमा र २०६७ सालमा २१ प्रतिशतमा हात्तीपाइले पोजेटिभ देखिएको थियो। औषधि खुवाउन शुरु गरिएपछि बाँकेमा हात्तीपाइलेको संक्रमण केही हदसम्म घटेको देखिए पनि अपेक्षित उपलब्धी हासिल हुन सकेको छैन।

८ वर्ष औषधि खुवाउदा पनि जोखिम कायमै रहेका कारण बाँकेमा नबौँ पटक पनि हात्तीपाइलेविरुद्धको औषधि खुवाउनु परेको जनाइएको छ।  हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन स्वाथ्यकर्मी स्वयंसेवकले आफ्नै उपस्थितिमा औषधि खुवाउन शुरु गरिएको छ।

विगतका वर्षमा हात्तीपाइलेको औषधि घरघरमा गएर स्बास्थ्यकर्मीले वितरण गरे पनि कतिपय स्थानीयले नखाइदिएका कारण बाँकेमा हात्तीपाइलेको जोखिम कायमै रहेको कार्यक्रमकी संयोजक दुर्गा गौतमले बताइन्। हात्तीपाइलेविरुद्धको औषधि खादा थप कुनै स्वास्थ्य समस्या नहुने भएकाले ढुक्क भएर औषधि खान आह्वान गरिएको नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले बताइन्।

यो वर्ष १५ गतेदेखि २५ फागुनसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम छ। विगतका वर्षको तुलनामा नेपालगञ्ज क्षेत्रमा हात्तीपाइलेविरुद्धको औषधि खानेको संख्या बढे पनि करीब ४६ प्रतिशतले नखाएको तथ्यांक छ। ५४ प्रतिशतले मात्रै हात्तीपाइलेविरुद्धको औषधि खाएका थिए।

भेरी अञ्चल अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे हात्तीपाइलेविरुद्धको औषधि खाएमाछ त्यसको असर देखिनु स्वभाविकै भएपनि स्वास्थ्यमा कुनै असर नगर्ने बताउँछन्। उनका अनुसार उक्त औषधि खाए पश्चात केही व्यक्तिको पेट र टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने र वाकवाकी लाग्ने समस्या देखिन सक्छ।

हात्तीपाइलेबाट ग्रसित नेपालगञ्ज उपमहानगरपालिका– ४ सल्यानीबागका एक स्थानीय।

हात्तीपाइले कसरी सर्छ ?
हात्तीपाइले अर्थात फाइरेरिया रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको जुका जस्तै परजीबीबाट संक्रमण भएपछि लाग्छ।

क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेमा हात्तीपाइले रोग सर्ने गरेको चिकित्सकले बताएका छन्। हात्तीपाइले रोगको संक्रमण लामखुटटे बढी हुने तराईका जिल्लामा बढी देखिएको छ। हात्तीपाइले रोगका कारण हाइड्रोसिल, यौनाङ सुनिने, खुट्टा फुल्ने, हिँडडुल गर्न गाह्रो हुने, दैनिक काम गर्न नसक्ने अवस्था सृजना हुन्छ।

ताजा समाचार

सम्बन्धित समाचार