काठमाडौँ – खानेपानी मन्त्री विनामगरले मेलम्ची खानेपानी आयोजनामा कसैले पनि गिद्धे नजर लगाउन नदिने बताएकी छिन् ।
शुक्रबार संसदमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजना उपत्यकावासीका लागि निकै नै महत्त्वपूर्ण र आफ्नो सफलतासँग जोडिएको विषय भएकाले कसैलाई पनि गिद्धे नजर लाउन नदिने बताएकी हुन्।
‘मेलम्ची राष्ट्रिय गौरवको आयोजनाका हुनुका साथै उपत्यकावासीको लागि महत्वपूर्ण छ यसका साथै यो मेरो सफलतासँग जोडिएको विषय हो तसर्थ मेलम्चीका कुनैपनि गिद्धेनजर पर्न दित्र,’ उनले भनिन्, ‘मेलम्चीबाट आएको पानीले काठमाडौँ उपत्यकावासीको प्यास मेटाउने हाम्रो तीव्र अभिलाशा छ ।’
सिएमसीको लापारवाहीको कारण मेलम्चीलाई अन्तिम परिणाम दिन नसकेको बताउँदै उनले आफ्नो कार्यकालमा धेरै नै उपलब्धी भएको दाबी गरिन्।
‘मैले नेतृत्व गरेपछि मेलम्ची तीव्र गतिमा अगाडि बढेको थियो, धेरै नै काम भएको छ, तुलानात्मक रुपमा मेलम्चीले निकै नै फड्को मारेको छ, उनले भनिन्।
सचिव ठाकुरले मन्त्रीले कमिशन खाएर देशलाई डुबाउन खोजेको आरोप लगाएका छन् भन्ने सांसदको प्रश्नमा उनले भनिन्, ‘कसले के भन्यो भन्ने विषलाई म प्राथमिकता दिन चाहन्न, कसैले मन्त्रीले देश डुबाउन खोज्यो भन्छ भने त्यसको जवाफदेही उ नै हुन्छ मलाई त्यस्तो हिसाबकिताव आउँदैन्।’
मेलम्चीको कामलाई अगाडि बढाउने विषयमा मन्त्रालयमा दुई किसिमको गृहकार्य भइरहेको बताउँदै उनले सिएसमी ठेक्काको मान्यताभित्र आएमा सरकारले स्वागत गर्ने अन्यथा नयाँ टेण्डरबाट अगाडि बढ्ने बताइन्।
खानेपानी सचिव सरुवाको विषयमा बोल्दै उनले भनिन्, मेरो पहिलो प्राथमिकता मेलम्ची खानेपानी र सिएमसीलाई राखेर काम गरियोस भन्ने थियो तर सचिवले त्यसो गरेनन्, खानेपानी मन्त्रालयका मात्र सचिव सरुवा भएका पनि होइनन् अन्यमापनि भएको छ , मेलम्चीलाई सही ट्रयाकमा ल्याउनु मेरो प्राथमिकता हो।’
सांसदहरू डिला संग्रौला, गगनकुमार थापा, राजन केसी, महेश बस्नेत र प्रेम सुवालले मन्त्री मगरलाई प्रश्न सोधेका थिए।
संग्रौलाले ‘ मेलम्ची ठेक्का लिएको कम्पनी किन फर्कियो? मन्त्री र सचिवबीच के मिलेन, कमिसन वा भ्रष्टाचार हो? मन्त्री सिएमसीलाई दिनुपर्ने तर सचिव ठाकुर देश डुबाउन लागेको भनिन्छ नि?’ भन्दै प्रश्न तेस्र्याएकी थिइन्।