खानेपानी, वातावरण र जलवायु परिवर्तन सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं–खानेपानी, वातावरण र जलवायु परिवर्तन विषयक अन्तर्राष्ट्रिय  सम्मेलन आगामी चैत २७ देखि २९ गते सम्म काठमाडौंमा आयोजना हुने भएको छ । राजधानीमा आईतबार आयोजित पत्रकार सम्मेलन मार्फत नेपालमा उक्त सम्मेलन पहिलो पटक हुन लागेको जानकारी दिइएको हो ।

सम्मेलनमा नेपालका २८ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखहरुको सहभागिता रहनेछ । १० वटा खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्षहरु, खुल्ला दिसामुक्त हुन बाँकी रहेका ११ जिल्लाका जिल्ला समन्वय समितीका अध्यक्षहरु, जिल्ला खानेपानी तथा सरसफाई कार्यालयका ईन्जिनियरहरुको सहभागिता हुनेछ ।

सम्मेलनमा जल व्यवस्थापनमा प्रविधि र प्रवर्तन, संस्थागत क्षमता निर्माण, दिगो विकासका लक्ष्यप्राप्तिका लागि रणनीतिक जल व्यवस्थापन, पानीको पुनप्रयोगको व्यवस्थापन प्रविधीका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री, एशियाली विकास बैंकका उपाध्यक्ष, अर्थमन्त्री डा. युवराज खतिवडा, एशिया वाटर काउन्सिल र कोरिया वाटरका अध्यक्षहरु, भारतको डा. मोदी विश्वविद्यालयका उपकुलपति लगायत विभिन्न मुलुकका प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापकले सम्बोधन गर्नेछन् । अन्र्तराष्ट्रिय सम्मेलन पूर्व चैत २६ गते नेपालमा फोहोरपानी प्रशोधनको विकेन्द्रीत मार्गचित्रः दक्षिण एशियाली अनुभवबाट सिकाइका विषयमा गोष्ठिको आयोजना गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।