काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको बाँकी काम कसले गर्ने भन्ने विषयमा उत्पन्न विवाद उत्कर्षमा पुगेको छ।
आयोजनाको निर्माण गरिरहेको ठेकेदार कम्पनी सिएमसीले काम बीचैमा छाडेर भागेपछि बाँकी काम कसले गर्ने भन्ने विषयमा खानेपानीमन्त्री बिना मगर र खानेपानी सचिव गजेन्द्र ठाकुरबीचको विवाद उत्कर्षमा पुगेको हाे।
मन्त्री मगरले मेलम्चीको बाँकी काम सिएमसीलाई नै दिनुपर्ने अडान राखेपछि मन्त्री र सचिवबीचको विवाद भएको हो । मन्त्री मगरले कानुन विपरित ३६० करोड सिएमसीलाई दिएर पुनः बाँकी काम उसैलाई जिम्मा लगाउनु अडान लिएको सचिव ठाकुरको भनाई छ।
हाकाहाकीसँग कुरा गर्दै सचिव ठाकुरले मन्त्री मगरले आफूलाई सिएसमीलाई नै बाँकी काम दिन मौखिक आदेश दिएको र आफूले लिखित रुपमा निर्देशन दिन भनेपछि सरुवा गरेको बताए ।
‘सिएमसीसँगको ठेक्का सम्झौता रद्द भइसकेको अवस्थामा पनि मन्त्रीज्यूले बाँकी काम उसैलाई दिनुपर्ने अडान लिनुभएको छ,’ उनले भने, ‘कानून विपरीत सिएमसीलाई ३६० करोड रकम दिएर पुनः काममा फिर्ता ल्याउन भन्नु भएको थियो मैले मानिन्, मेरो सरुवा भयो ।’
मेलम्चीको बाँकी काम सिएमसीलाई नै दिनुपर्ने भन्दै मन्त्री मगरले सबै काम ठप्प पारेको उनको भनाइ छ । उनी गरिरहेको काम बीचैमा छाडेर भाग्ने भगुवालाई राज्यको ढुकुटीबाट ३६० करोड दिएर पुनः उसैलाई काम सुम्पन आफ्नाे नैतिकताले नदिएको बताउँछन् ।
सरकारले कर्मचारीलाई बलिको बोको बनाएर राज्यको ढुकुटी सकाउन खोजको उनको आरोप छ।