Monday, November 18, 2024

मेलम्ची खानेपानी आयोजना भन्छ : ‘बाँकी काम सेनालाई दिन जरुरी छैन्, हामी सक्षम छाैँ’

काठमाडौँ – मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसीले बीचैमा काम छाडेपछि बाँकी काम सेनाले गर्ने चर्चा चलेपनि आयोजनाले भने सेनाको आवश्यक्ता नरहेको जनाएको छ।

सिएमसीले मेलम्चीबाट हात झिकेसँगै बाँकी कामका लागि अन्य प्रकृया ढिलाे हुने भन्दै सेनाले सम्पन्न गर्ने कुरा चलिरहेकाेमा आयोजनाले यस्तो बताएको हो।

आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कडेँल बाँकी काम कसरी गर्ने भन्ने विषयमा योजना बन्दै गरेको र आयोजनाले नै उक्त काम सम्पन्न गर्ने बताउँछन्।

हाकाहाकीसँग कुरा गर्दै उनले भने, सिएमसीसँगको सम्झौता रद्द भइसकेको अवस्थामा बाँकी काम हामी आफैँले नै गर्ने योजना छ ।’ राष्ट्रिय गौरवको योजना भएकाले बाँकी काम सेनाले गर्ने हल्ला चलेपनि आधिकारिक नभएको र उक्त कार्यका लागि सेनाको आवश्यक्ता नरहेको उनको भनाइ छ।

अंग्रेजी नयाँ वर्ष मनाउन भनेर इटली गएका आयोजनाका कामदार नफर्केपछि ७ माघमा सरकारले सिएमसीलाई १४ दिन भित्र काम फर्कन पत्राचार गरेको थियो । सिएमसी काममा नफर्केपछि मंगलबार खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी आयोजना, दातृ निकायलगायतको छलफलले सिएमसीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।

सिएमसीसँगको सम्झौता रद्द भएपनि बाँकी कामको टुंगो नलागेपछि आयोजनाले बिहीबार बोर्ड बैठक डाकेको छ । बिहीबार हुने छलफलले मेलम्चीको बाँकी कामको टुंगो लगाउने कार्यकारी निर्देशक कडेँलले जानकारी दिए । बोर्डमा खानेपानी सचिव, मेलम्ची खानेपानी आयोजना, अर्थमन्त्रालयका सहसचिव, काठमाडौँ महानगरपालिकाका मेयर तथा मेलम्ची गाउँका प्रतिनिधि सदस्य रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार