Monday, November 18, 2024

मेलम्ची आयोजना प्रधानमन्त्रीको ‘राय’ मा अगाडि बढ्ने

काठमाडौं –मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालीयन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का औपचारिक रूपमा तोडिने निश्चित भएको छ।

सरकारले पछिल्लो समय ठेक्का रद्द भएको जानकारीसहितको पत्र १४ दिन अघि सिएमएसीलाई पठाएकोमा अब एक दिन बाँकी रहँदा पनि कुनै जवाफ नआएपछि ठेक्का स्वतः रद्द सरह मानिने सरकारी अधिकारीहरूले बताएका छन्।

‘सिएमसीलाई काममा फर्कन माघ २२ सम्मलाई समयवाधि तोकिएको थियो, उनीहरू आउने छाँटकाट देखिँदैन,’ खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले भने।

तर, आयोजनाको करीब ९ सय मिटर सुरुङको फिनिसिङसहित सुरुङभित्र क्यामेरा जडान गर्ने, सुरक्षाका उपकरण जोड्न काम कसले गर्ने भन्नेमा अन्यौलता कायमै छ। उपआयोजना अन्तर्गत वितरण प्रणालीका पाइप बिछ्याउने, मर्मत गर्ने काम पनि बाँकी नै छ।

सीएमसीले मेलम्चीको काम बीचमै छाडेपछि सरकारी अधिकारीहरुबीच बाँकी कामको जिम्मा नेपाली सेनालाई दिने विषयमा आन्तरिक छलफल भएको थियो। तर, हालसम्म निर्णय भइसकेको छैन।

सचिव ठाकुरका अनुसार अब मेलम्चीको काम अगाडि बढाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श लिइनेछ। ‘अब हामी प्रधामन्त्रीसँग छलफल गरी उहाँकै सुझावमा कसरी अगाडि भन्ने तय गर्छौँ,’ सोमबार हाकाहाकीसँग कुरा गर्दै सचिव ठाकुरले भने। यद्यपि, प्रधानमन्त्रीसँग परामर्शको मिति भने तय भइसकेको छैन।

१० माघमा संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजनाको बाँकी काम नेपाली निर्माण कम्पनीबाटै गराउन निर्देशन दिएको थियो।

२०७० सालमा इटालीको सीएमसी कम्पनीलाई ३ वर्षमा आयोजना सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार