दाङ–खोलामा माछा सकिँदै गएपछि के गर्ने होला? माछामा आश्रित समुदायलाई पिरोलिरहने प्रश्न हो यो। सम्भवतः एउटै उपाय होला पोखरीमा माछा पालन। राप्ती तटीय क्षेत्रमा यस्तो उपाय अपनाइएको छ।
राप्ती तटीय क्षेत्रमा जनधनत्त्व बढ्दै जाँदा राप्तीमा माछा मार्ने पनि धेरै हुन थालेका थिए। उनीहरूले बम, विषादी तथा करेन्ट जस्ता हानिकार विधि अपनाएर माछा मार्न थाले। परिणाम खोलामा माछा कम हुन थाल्यो। माछा मारेर जीविकोपार्जन गर्नेहरू समस्यामा पर्ने थाले। त्यसैले अहिले व्यवसायिक रूपमा पोखरीमा माछा पाल्नेहरूको सङ्ख्या बढ्दै गएको छ।
दाङको लमही नगरपालिका–३ कान्तिपुर गाउँमा माछा पालन गर्ने किसानहरू धेरै छन्। त्यसैले यस क्षेत्रलाई माछाको पकेट क्षेत्रका रूपमा पनि चिनिन्छ।
पहिला कान्तिपुर गाउँका किसानहरूले अन्नबाली मात्र उत्पादन गर्थे। तर,आजभोली माछाको व्यवसायले चर्चा पाएको छ।
यस ठाउँमा सबैभन्दा पहिला सरद गौतमले माछा पालन गर्ने थालेका थिए। उनले विगत ३० वर्षदेखि यो व्यवसायलाई निरन्तरता दिँदै आएका छन्। ३ कट्टाबाट व्यवसाय सुरु गरेका गौतमले अहिले ७ बिघामा माछा पालन गरेका छन्।
‘मैले यसअघि कृषि सम्बन्धी धेरै काम गरे। तर, फाइदा कमाउन सकिन। धान गहुँबाट धेरै उत्पादन नहुने, सानो–सानो गर्दै माछा व्यवसाय सुरु गरे । मैले २०५२ सालदेखि सुरु गरेको हो,’ माछा व्यवसायी गौतमले भने।
गौतम बिहानदेखि यही व्यवसायमा व्यस्त हुन्छन्। दैनिक एक क्वीन्टल माछा विक्री हुन्छ। यहाँका व्यापारीहरू स्थानीय बजारदेखि प्युठान, रोल्पा लगायतका जिल्लामा समेत माछा बिक्री गर्ने पुग्छन्।
बजारमा माछाको माग बढ्दो रहेको व्यवसायीहरू बताउँछन्। बजारमा माछाको माग पुरा गर्ने गौतम जस्ता माछा व्यवसायीलाई धौ–धौ भएको छ। यसले व्यवसायीहरूको आम्दानी वृद्धिमा सहयोग पुगेको छ।
माछा बिक्रीबाट गौतमले वार्षिक करोड बराबरको कमाइ गर्छन्। बढ्दै गएको आम्दानीले गौतमलाई थप हौसला मिलेको छ।
उनले चार जनालाई रोजगार समेत दिएका छन्। उनको आगामी दुई वर्षको योजना भनेको कृषि पर्यटनलाई विस्तार गर्नु रहेको छ। यसका लागि पार्क र संरचना निर्माणको काम भइरहेको उनी बताउँछन्।
त्यसै गरी उनको पोखरीबाट माछा लगेर बेच्ने व्यापारीहरू पनि यो पेशा प्रति सन्तुष्ट छन्। ‘दैनिक ३० देखि ५० किलोसम्म माछा विक्री गर्छु। विशेष त होटलहरूमा माछाको माग बढी छ,’ माछा व्यापारी कृष्णबहादुर कुमालले भने।
अर्को माछा व्यापारी राजकपर चौधरी भन्छन्,‘ महिनामा १ लाख २० हजार भन्दा बढी कमाइ हुन्छ। दैनिक ४०/५० किलो माछा यहाँबाट लाने गरेको छु, युठान, खलङ्गा, सुलेचौर, लिवाङ लगायतका ठाउँमा विक्री गर्छु।,’
गौतमको हाचरी उद्योग पनि छ। यो उद्योगबाट माछाको ह्याचलिङ्ग (चार दिनको माछा) उत्पादन गरिन्छ। चार दिनको माछा नर्सरीकर्ताका लागि विक्रीका लागि तयार हुन्छ। चार दिनको माछालाई करिब डेढ महिना नर्सरी पोखरीमा हुर्काएपछि कृषकलाई विक्री गरिन्छ।
यसलाई माछाको भुरा भनिन्छ। भुरा हालेको चार महिनापछि खानका लागि बिक्री गर्ने क्रम सुरु हुन्छ। ह्याचलिङ्ग प्रतिलाख २५ सय रुपैयाँमा बिक्री हुन्छ भने फिङ्गरलिङ्गलाई एक इन्च बराबर एक रुपैयाँ पर्छ।
गौतमको ह्याचरी उद्योगमा वार्षिक ६० लाख फिङ्गरलिङ्ग र एक करोड ह्याचलिङ्ग उत्पादन हुन्छ। गौतमले नेपाल सरकारले मान्यता दिएको सात जातका माछा पाल्दै आएका छन्। गौतमको उद्योगबाट भुराहरू ल्याएर व्यवसाय गर्नेहरू पनि सफल हुँदै गएका छन्। ‘अहिले दुई पोखरीमा माछा पालन गर्दै आएको छु। विस्तारै व्यापार विस्तार गर्ने मन छ,’माछा व्यवसायी हरिप्रसाद गौतमले भने।
त्यसै गरी अन्नबाली भन्दा माछा व्यवसाय गर्दा फाइदा हुने गरेको अर्को माछा व्यवसायी दामोदर अधिकारी बताउँछन्। ‘८ कट्टामा पोखरी बनाएर माछा पालन गरेको छु। गत वर्ष २० क्वीन्टल माछा बिक्री गरें। होलसेलमा बिक्री गर्दा पनि ४ लाख कमाइ हुन्छ। यो जमिनमा खेती गर्दा यती आम्दानी त हुन्दैन,’अधिकारीले भने। गौतमसँग माछा पालन सम्बन्धी परामर्श तथा सल्लाह लिने गरेको अर्को व्यवसायी गोविन्द गिरी बताउँछन्।