Monday, November 18, 2024

प्रयोगशाला बन्द हुँदा विषादीयुक्त तरकारी खान बाध्य छन् नेपालगञ्जवासी

नेपालगञ्ज–नेपालगञ्जको राती तलाउस्थित तरकारी बजारमा राखिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बन्द हुँदा उपभोक्ताहरू विषादीयुक्त तरकारी खान बाध्य भएका छन्।

बाली संरक्षण निर्देशनालय काठमाडौँले साढे २ वर्ष पहिले स्थापना गरेको प्रयोगशाला सरकारी बेवास्ताका कारण ६ महिनादेखि बन्द छ । नेपालगञ्जको राती तलाउ तरकारी बजारमा दैनिक ८० टन तरकारी बिक्री हुन्छ। तरकारी बजारमा नेपालगञ्जका छिमेकी गाउँ र सल्यान, दैलेख, नारायणघाट देखि भारतीय बजारबाट तरकारी आउँछ।

तरकारी उत्पादनका क्रममा विषादीको प्रयोग कुन मात्रामा गरिएको छ, बिक्रीका लागि ल्याइएको तरकारीमा विषादीको अवस्था कस्तो छ भनेर नापजाँचका लागि कृषि मन्त्रालयले राती तलाउ स्थित तरकारी बजारमा लाखौँ खर्चेर २ वर्ष पहिले अत्याधुनिक उपकरण सहितको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरेको थियो।

नेपालमा वार्षिक करिब साढे ३ सय मेट्रिक टन विषादी खपत हुने गरेको कृषि मन्त्रालय बाली संरक्षण निर्देशनालयको तथ्यांक छ । तरकारीमा प्रयोग हुने अधिकांश विषादी बाहिरी मुलुकबाट आयात हुन्छन्।

नेपाल सरकारले बिक्री–वितरणमा रोक लगाएका क्लोरडाइन, डीडीटी, डाइलड्रिन, एलड्रिन, हेप्टाक्लोर, टोक्साफेन, माइरेक्स, लिन्डेन, बीएचसी, फोस्फामाइडन, ओरगानो मर्करी फंगिसाइड, मिथाइल प्याराथिन, मोनोक्रोटोफस, इन्डोसल्फेन लगायतका विषादीसमेत अवैध रूपमा तरकारीखेतीमा प्रयोग हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्।

रोग, कीरा तथा चराचुरुङ्गीबाट तरकारी बालीलाई जोगाउन विषादी प्रयोग गर्नुपर्ने भए पनि कतिपय तरकारी उत्पादकले थोरै समयमा धेरै नाफा कमाउन उत्पादन वृद्धिका लागि हानिकारक विषादीसमेत प्रयोग गर्ने गरेका छन्।

कृषि विकास मन्त्रालयले विषादीको प्रयोग घटाउन विभिन्न कार्यक्रम गर्दै आए पनि परिणाम उल्टो देखिँदै आएको छ। विषादी हालेको कम्तिमा तीन साता पछि मात्र तरकारी, फल वा खाद्यान्न उपभोग गर्दा विषादीका कारण मानव स्वास्थ्यमा हुन सक्ने जोखिमलाई कम सकिन्छ ।

कृषि विज्ञहरूका अनुसार भान्टा, परवर, आलु, मुला, काउली, करेला, गोलभेडा, काक्रो, फर्सी, प्याज, धान, गहुं, मकै लगायतका खाद्यान्न तथा बेमौसमी तरकारी बालीमा विषादीको प्रयोग धेरै गर्ने गरिएको छ।

बाली संरक्षण निर्देशनालयले २०७० मंसिरमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा मानव शरीरलाई सबैभन्दा बढी षोषण तथा भिटामिन दिने हरियो तरकारीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने इन्डोसल्फेन, क्लोरसाइरिफोस, मालाथिन, प्याराथिन मिथाइल, प्रोफेनोफोस, साइपरमेथ्रिन र ला बडा साइक्लोथ्रिनलगायत १३ वटा विषादी फेला परेको उल्लेख छ।

नेपालमा वर्षेनी १० देखि २० प्रतिशतका दरले विषादीको प्रयोग बढ्दै गएको सरकारी तथ्यांक छ। तरकारीमा लाग्ने रोग कीराको प्रकोप नियन्त्रणका लागि अत्याधिक मात्रामा विषादकिो प्रयोग गर्ने र प्रयोग गरेको केही दिनमै बिक्रीका लागि तरकारी बजारमा लैजाने प्रवृतिका कारण तरकारीमा उपभोक्ताहरूले खरिद गर्ने तरकारीमा विषादीको पर्याप्त मात्रामा अवशेषहरू रहने गरेको छ।

कृषि मन्त्रालयको चरम लापरबाही र बेवास्ताका कारण अत्याधुनिक उपकरण सहितको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला बन्द भएको हो । राती तलाउ स्थित तरकारी बजारमा रहेको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालाको ढोकामा लागेको ताला लामो समयदेखि नखुलेका कारण ताला माथि माकुराको जालो लागेको छ।

प्रयोगशाला सञ्चालनका लागि आवश्यक बजेट र कर्मचारी नभएको कारण प्रयोगशाला छ महिनादेखि बन्द अवस्थामा रहेको रानी तलाउ कृषि उपज बजार संचालक समितिका सदस्य मेराज कबाडियाले बताए।

प्रयोगशाला संचालनका प्रयोगशालामा जडान गरिएको विद्युतको महशुल समेत प्रयोगशालाले डेढ वर्ष देखि तिरेको छैन। लामो समय देखि विद्युतको महशुल नबुझाएका कारण अहिले प्रयोगशालाको बिद्युतको लाइन नै काटिएको छ।

प्रयोगशाला कुन निकायले कसरी चलाउने बजेट र आबश्यक कर्मचारीहरुको व्यवस्था कसरी गर्ने भन्ने अन्यौलका कारण प्रयोगशाला संचालनमा समस्या देखिएको कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत एवम् प्रयोशालाका प्रमुख शकिल अहमद खानले बताए।

बालीनालीमा विषादी प्रयोग गरी सकेपछि ती बालीनाली कति दिनसम्म टिपेर बिक्रीवितरण र उपभोग गर्ने भन्ने विषयमा किसानले ध्यान नदिँदा त्यस्ता तरकारी र खाद्यन्नको प्रयोगले मानव स्वास्थ्यमा असर गरिहरको छ। विषादीयुक्त तरकारी र खाद्यन्न प्रयोगले श्वास प्रश्वास, छाला, नशाका साथै स्मरणशक्ति, प्रजनन क्षमतामा असर पर्छ।

लामो समयसम्म बिषादीयुक्त तरकारी तथा खाद्यान्नको प्रयोगले रगत तथा छालाको क्यान्सर हुने जोखिम धेरै हुने भेरी प्रादेशिक अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेले बताए।

ताजा समाचार

सम्बन्धित समाचार