Monday, November 18, 2024

चक्रपथको आलोचनाप्रति चीन असन्तुष्ट, दोस्रो खण्ड निर्माण अन्योलमा

काठमाडौँ–चक्रपथ सुधार आयोजना अन्तर्गतको कलंकी–सातदोबाटो–कोटेश्वर खण्ड निर्माणमा विभिन्न त्रुटिहरू भएको भनी सर्वत्र आलोचना भइरहेका बेला दोस्रो खण्ड कलंकी–महाराजगञ्ज खण्ड विस्तारको काम अन्योलमा परेको छ।

नेपाल सरकारले विस्तारका लागि आवश्यक जग्गाा अधिग्रहण र संरचनाहरू भत्काउने कार्यमा तदारुकता नदेखाएको चिनियाँ पक्षको भनाइ रहेको छ, भने नेपाली पक्ष चक्रपथ विस्तारको लागि सबैभन्दा पहिला प्रारम्भिक डिजाइन तयार हुनुपर्ने अडानमा छ। नेपाली अधिकारीहरू सो खण्डको प्रारम्भिक डिजाइन कुरेर बसेका छन् भने चिनियाँ पक्षले परियोजना सहज रुपमा अगाडि बढाउन अधिग्रहण लगायतका समस्याहरू पहिला हल हुनुपर्ने अडान लिएको छ।

यस विषयलाई सम्बोधन गर्नका लागि दुवै पक्षबीच निरन्तर कुराकानी भएपनि टुंगो लाग्न सकेको छैन। चिनियाँ पक्षले अक्टोवर २०१८भित्र नै कलंकीदेखि महाराजगन्जसम्मको डिजाइन उपलब्ध गराउने बताएको थियो। केही दिन अगाडि कोटेश्वर-कलंकी सडक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले जग्गाा अधिग्रहण लगायतका अन्य समस्याहरू हल गर्ने आश्वासन दिएका दिए। यसका साथै अन्य सरकारी प्रक्रियाहरू झन्झटिलो भएको गुनासो समेत चिनियाँ पक्षले गरेको छ।

चक्रपथ विस्तारमा देखिएका त्रुटिहरूको बारेमा सर्वत्र आलोचना भइरहेको समयमा चिनियाँ पक्षले भने त्यसमा असन्तुष्टि व्यक्त गरेको छ। सरकारी अधिकारीहरूका अनुसार विस्तारको काम सबै नेपालको सरकारी निकायसँगको समन्वयमा गरेपनि अहिले सरकारी अधिकारीहरुले नै आलोचना गरेको भनी चिनियाँ पक्ष रुष्ट भएको छ। चिनियाँ पक्षले सबै काम नेपालका सरकारका निकायहरुसँगको समन्वय र अनुमोदनपछि गरेको दाबी गर्दै आएको छ।

पछिल्लो समयमा संचार माध्यम र सोसल मिडियामा चक्रपथको कमजोरीहरूको बारेमा आलोचना भइरहेको छ। ‘चिनियाँहरू कही कमजोरी भएपनि हल्ला नगरी समाधान गर्न चाहन्छन् तर यो विषय मिडियामा निकै आएकोमा असन्तोष व्यक्त गरिरहेका छन,’ एक सरकारी अधिकारीले भने।

चक्रपथ निर्माण सम्झौतामा चक्रपथमा साइकल लेन बनाउने उल्लेख भएपनि बनाइएन। साइकल लेन बिनाको सडक हस्तान्तरण भएपछि वातावरणविद् भूषण तुलाधरले ट्वीट गर्दै भनेका छन, ‘सरकारले रिङ्गरोडमा साइकल लेन हुन्छ भन्दा हामी दंग थियौं। यसको नाम डा. प्रल्हाद योन्जन साइकल लेन राख्नु पर्ला भनि सोचेका पनि थियौं। चीनसँगको सम्झौतामा पनि साइकललेन, फुटपाथक, बस स्टपसहितको बाटो उल्लेख छ। तर हिजो हामीलाई चिनले ‘डेथ ट्रयाप’ हस्तान्तरण गर्यो।’ अब दोस्रो चरणमा पहिलो चरणमा देखा परेका कमजोरीहरु सच्याउनुपर्ने देखिन्छ जसका लागि केही नयाँ पूर्वाधारहरूको समेत आवश्यकता पर्दछ।

उता हस्तान्तरण भइसकेको पहिलो खण्डको केही कामहरू अझै बाँकी रहेको छ। ग्वार्काे–सातदोबाटो खण्डको २ किलोमिटर र कलंकीमा केही सर्भिस ट्रयाकको काम नै शुरु भएको छैन। पहिलो खण्डमा बाँकी रहेको काम नेपाल सरकारले आफ्नै खर्चमा गर्ने घोषणा गरिसकेको छ।

ताजा समाचार

सम्बन्धित समाचार