डोटी– पानीको अभावमा परम्परागत खेती गर्दै आएका डोटीको बोगटान गाउँपालिका–१ सिमचौरका बासिन्दा पानीको उचित व्यवस्थापन भएपछि फलफूल खेती र कुखुरा पालनतर्फ आकर्षित भएका छन्।
स्थानीयले मिलेर आकाशे पानी र धाराको पानीलाई पोखरीमा जम्मा गरी सिँचाइ गर्न थालेपछि त्यहाँका कृषक व्यवसायिक खेती तथा कुखुरापालनमा आकर्षित भएका हुन्।
केशर बम र हरिकलाको बारीमा अहिले मौसमी र सुन्तला पाकेका छन्। उनीहरूका बारीमा पाँचदेखि पन्ध्र वर्षसम्मका सुन्तला र मौसमीका बोट छन्। घरको छेउमै भएको पानीको धाराले उनीहरूले सिँचाइ गरिरहेका छन्। भान्साका लागि आवश्यक तरकारी बारीमै रोपेका छन्। पहिला पानी नहुँदा तरकारी नफल्ने ठाउँमा सिँचाइको व्यवस्था भएसँगै फल्न थालेको उनीहरूको भनाई छ। धाराको पानीबाट २४ घण्टा पानी आउने भएकाले सिँचाई गर्न सजिलो भएको कृषक बम बताउँछन्।
स्थानीयले सिँचाइ तथा अन्य कृषि सामग्री व्यवस्थापनका लगि शिवशक्ति कृषक समूह खोलेर काम गरिरहेका छन्। कृषि समूहले व्यवसायिक खेती कसरी गर्ने भन्ने सिकाउँछ। ‘पानी जम्मा गर्नलाई पोखरी बनाएका छौँ। अहिले घरघरमा धारा छन् त्यहाँबाट बारीमा सिँचाई गर्न पुग्छ,’ शिवशक्ति कृषक समूहकी सचिव हरिकला मल्लले भनिन्।
स्थानीयले उत्पादन गरेका सबै साम्रगीको बजारीकरण गर्नु कृषक समूहको उद्देश्य रहेको उनको भनाइ छ।
यहाँ उत्पादन भएका टिमुर, सिस्नो, फलफूल, मह कृषि सहकारीमा सङ्कलन गरी बजार पुगाउने लक्ष्य भएता पनि बाटोको समस्याले गर्दा योजना सफल हुन नसकेको उनी बताउँछिन्।
परम्परागत रूपमा लगाउँदै आएको बालीले भनेजस्तो उत्पादन दिन छाडेपछि यहाँका किसानहरू अन्य बाली तर्फ आकर्षण भएका हुन्। किसानलाई व्यवसायिक रूपमा फलफूल तथा तरकारी खेती गर्ने रहर भए पनि बजारको समस्याका कारण गर्न नसकिएको कृषकहरूको गुनासो छ।
‘उत्पादन धेरै राम्रो पनि छैन। तर,उत्पादन भएको फलफुलको बजार छैन। गाउँघरमै जति बिक्री भयो भयो। अहिले बजार व्यवस्थापनको कमी छ,’ केशर बम गुनासो पोख्छन्।
बजारको मात्र होइन यहाँ फलफूलमा लाग्ने विभिन्न रोगको पनि समस्या छ। केशरले मौसमी र सुन्तलाका बिरुवा हुर्काउनु भन्दा पहिले कागतीका बिरुवा हुर्काएका थिए। तर, हाँगा सुक्ने रोगका कारण उनले लगाएका १ सय ५० कागती बोट सबै मासिए । अहिले मौसमी र सुन्तलामा पनि यही समस्या देखिन थालेको छ।
शिवसक्ति कृषक समूहकी अध्यक्ष पद्मा घर्ती मगरले बाख्रा र कुखुराको फर्म खोलेकी छन्। ‘समूहमा जम्मा भएको पैसा सहकारीमा जम्मा गर्छौ। जसलाई आवश्यक पर्छ उसलाई दिन्छौँ, यसले ठूलो सहयोग पुगेको छ,’ अध्यक्ष घर्तीमगरले भनिन्।
समूहमा कृषिमा देखिएको समस्यकाबारेमा पनि छलफल हुन्छ तर, कृषि प्राविधिकको समस्याका कारण बालीमा लाग्ने रोगको पहिचान र निदानका उपाय अपनाउन समस्या देखिएको समूहको निष्कर्ष छ। समूहका कृषकले कृषिमा देखिएको समस्या वडा र गाउँपालिकालाई भन्ने गरेका छन्।
वडा कार्यालयले पनि कृषकहरूलाई प्रोत्साहन गर्न योजना बनाइरहेको वडाध्यक्ष डम्बरबहादुर घर्ती बताउँछन्। ‘यहाँबाट अत्तरिया जोड्ने बाटो खुलेपछि यहाँ उत्पादन भएका तरकारी फलफुलले बजार पाउँछ,’ वडाध्यक्ष धर्तीमगरले भने।
त्यस्तै पहिला भन्दा अहिले वर्षा पनि कम हुन थालेकोले समस्या बढेको स्थानीय भनाइ छ। तापक्रम बढेपछि बालीमा किरा लाग्ने समस्या बढेको छ भने नयाँ नयाँ रोग तथा झारहरू देखिन थालेको छन्।
‘पहिला धेरै चिसो हुन्थ्यो तर,अहिले तापक्रम बढेको छ। पहिला हिउँदे खेती र बर्खे खेती दुवै सिजनमा वर्षा हुन्थ्यो, अहिले हिउँदे खेतीका लागि पानी परिसक्नु पर्नेमा अहिलेसम्म परेको छैन। वर्षा भयो भने भीषण वर्षा हुन्छ,’ वडाध्यक्ष बमले भने।
गाउँमा अहिले अदुवा खेती पनि प्राथमिकतामा पर्ने थालेको छ। बालीनालीमा समस्या देखिन थालेपछि उनीहरू वातावरण अनुकुलन बालीतर्फ आकर्षित हुन थालेका हुन्।