जथाभावी सडक विस्तारले चुरेको वन विनास बढ्दो

धनगढी– कैलालीको चुरे गाउँपालिकाका विभिन्न स्थानमा जथाभावी रूपमा नयाँ सडक खोल्ने क्रम जारी छ।

चुरे गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि विकास निर्माणलाई तीव्रता दिने भन्दै जथाभावी रुपमा नयाँ सडकको ट्रयाक खोल्ने तथा पुराना सडक चौडा बढाउने काम भइरहेको छ। वन निकायका कर्मचारीका अनुसार गाउँपालिकाले नयाँ सडक निर्माण गर्ने क्रममा वन तथा घना वनजंगल रहेका क्षेत्रलाई समेत वेवास्ता गरेर मनलागी ढंगले सडक निर्माण भइरहेको छ।

चुरेमा सडक विस्तार गरिँदै।

‘स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि कतिपय वन क्षेत्रमा पनि सडक खन्ने काम भएको छ,’ चुरे सबडिभिजन सेक्टर वन कार्यालयका प्रमुख डबल बोहराले भने, ‘वनभित्र सडक खन्नका लागि रूख काट्ने अनुमति लिनेतर्फ पनि कुनै ध्यान दिइएको छैन।’

सबडिभिजन सेक्टर बन कार्यालय प्रमुख बोहराले जनप्रतिनिधिले विकासका नाममा वातावरण विनासप्रति कत्ति पनि ध्यान नदिएको गुनासो गरे। उनले भने, ‘वनजंगल क्षेत्रमा रुख काट्नु पर्दा सेक्टर, जिल्ला वन कार्यालय वा बन मन्त्रालयलाई जानकारी दिनुपर्ने व्यवस्था रहेको छ।’

बोहराले चुरे गाउँपालिकाका कतिपय वन क्षेत्रभित्र नयाँ बाटो निर्माण भए पनि वन निकायलाई कुनै जानकारी नदिइएको बताए। उनले भने, ‘गाउँपालिकाले अनुमति नलिने तथा जानकारी नगराएका कारण वन क्षेत्रमा के कति रुखहरु काटिए ? भन्ने हामीसँग कुनै जानकारी वा तथ्यांक नै छैन।

चुरे गाउँपालिकाले वडा नम्बर ६, शान्तिनगरदेखि मथुरे हुदै फल्टुडेसम्म चार किलोमिटर नयाँ बाटो निर्माण गरिएको छ। यो सडकको वातावरणीय प्रभाव मूल्यांकनमा ५० भन्दा बढी रुखहरु परेको उल्लेख छ। त्यस्तै, वन क्षेत्रभित्र रहेको गाउँपालिकाको वडा नम्बर ५ स्थित वेल्चापलानदेखि गुडीसम्मका तीन किलोमिटर र बेल्चापलानदेखि पटरैनीसम्म तीन किलोमिटर नयाँ बाटो निर्माण गरिएको छ।

वन तथा वातावरण विज्ञहरुका अनुसार सडक निर्माणका लागि वन क्षेत्रमा जथाभावी रुपमा रुख काटिदा चुरे क्षेत्रमाथि दीर्घकालीन रुपमा संकट आउनसक्छ। वनविज्ञ रमेशबहादुर चन्दले भने, ‘सडक बनाउन वनजंगल क्षेत्रमा जथाभावी रुपमा रुख काट्ने र अत्यधिक मात्रामा डोजर प्रयो गर्दा पहिरो, भुक्षय, पानी अभाव, तराई समथर क्षेत्रमा बाढी, सुख्खा लगायतको समस्या बढ्दै जानसक्छ।’

चुरे गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम साउँदले ‘शान्तिनगरदेखि फल्टुडेसम्मको सडक बनाउँदा ६० भन्दा बढी रुख परे पनि सात-आठ रुखमात्र काटिएको दाबी गरे। उनले सडक नाउदा वडापालिकाले वन तथा वातावरणको संरक्षणमा पनि ध्यान दिएको बताए।

गाउँपालिका अध्यक्ष धनबहादुर रोक्कामगरले नयाँ सडक बनाउँदा केही रुख काट्नुपर्ने अवस्था आउने गरेको बताए। ‘वनजंगल क्षेत्र भएर सडक बनाउँदा रुखहरु परेका छन्, तर हामीले सकेसम्म कमभन्दा कम रुखमात्रै काट्ने गरेका छौं,’ अध्यक्ष रोक्कामगरले भने, ‘तर नयाँ सडकहरु बनाउदा के कति रुख काटिए भन्ने हामीसंग जानकारी भने छैन।’

गाउँपालिका अध्यक्ष रोक्कामगरले वन निकायको कागजी प्रणालीले विकासमा बाधा पुर्याउने र झन्झटिलो प्रक्रिया रहेकाले रुख काट्नेबारे लिखित जानकारी नदिएको बताए। ‘वनलाई लिखित जानकारी दिने गरेको छैन, तर मौखिक जानकारी भने गराइरहेका छौं,’ उनले भने ।

सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका पूर्वअध्यक्ष डण्डीराज सुवेदीले ‘जनप्रतिनिधिले द्रुत गतिमा विकास गर्ने भनेर अत्यधिक मात्रामा डोजरको प्रयोग गदाई दीर्घकालीन रुपमा समस्या निम्तिने बताए।

कैलालीको साविकको सहजपुर, खैराला र निगाली गाविसलाई जोडर बनाइएको चुरे गाउँपालिकामा १० हजार तीन सय ४४ हेक्टर क्षेत्रफलमा वन रहेको जनाइएको छ। चुरे गाउँपालिकामा ३२ वटा सामुदायिक वन रहेका छन्, भने पाँच हजार चार सय ३५ घरधुरी सामुदायिक वनका उपभोक्ता रहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार