२ असोज, काठमाडौँ ।
पत्रकार विद्या राई वातावरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् ।
नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले आफ्नो ४१औँ वार्षिक साधारणसभामा उनलाई ‘वातावरण पत्रकारिता पुरस्कार–२०२५’ प्रदान गरेको हो ।
प्राकृतिक स्रोत तथा वित्त आयोगका निर्वतमान कार्यवहाक अध्यक्ष एवं समूहका विज्ञ सदस्य जुद्धबहादुर गुरूङ र समूहका अध्यक्ष चन्द्रशेखर कार्कीले राईलाई नगद र सम्मानपत्र प्रदान गरे ।
समूहले वातावरण र दिगो विकासका विविध विषयहरूमा पत्रकारहरूलाई प्रोत्साहन गर्न विगत ४ दशकयता हरेक वर्ष वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
राई समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार’ पाउने ३९ औँ पत्रकार हुन् । उनी नेपाल न्यूज डटकमकी विशेष संवाददाता हुन् ।
गत वर्ष (सन् २०२५ मा) वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनहरूमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरूबाट प्राप्त आवेदन मध्येबाट राई सर्वोत्कृष्ट चयन भएकी हुन् ।
पुरस्कारका लागि समूहले पत्रकारहरूलाई सन् २०२५ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन सार्वजनिक आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष कसमस विश्वकर्माको संयोजकत्वमा पूर्व महासचिव संगीता लामा र विज्ञ सदस्य बटुकृष्ण उप्रेती सम्मिलित ३ सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा राईलाई पुरस्कार दिने निर्णय गरिएको हो ।
यससँगै समूहले २०२५ का लागि उत्कृष्ट र प्रशंसनीय रिपोर्टिङ गरेका अन्य ५ जना पत्रकारहरूलाई ‘उत्कृष्ट रिपोर्टिङ–२०२५’ प्रशंसा पत्र प्रदान गर्न सिफारिस गरेको छ ।
निर्णायक मण्डलले क्रमशः महेश के.सी.(कान्तिपुर टिभी), रूकुम पूर्व, सविता बुढा, (रातोपाटी अनलाइन) धनगढी, हरिबहादुर लम्जेल, (अन्नपूर्ण पोष्ट), धनकुटा, सिर्जना बुढाथोकी, (नेपाल समाचारपत्र) सुर्खेत र घनश्याम खड्का, (उकालो डटकम) म्याग्दीलाई प्रशंसा पत्र प्रदान गर्ने निर्णय गरेको छ ।





