काठमाडौं–कान्ति लोकपथ अन्तर्गत तीन किलोमिटर ११ मिटर दूरीको टाहाखेल– टीकाभैरब सडकखण्ड निर्माणका लागि एक हजार नौ सय एक रूख काटिने भएको छ।
सडक विस्तारका क्रममा चारघरे भागावन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रका १ हजार ७ सय ५८ र राष्ट्रिय वन क्षेत्रका १ सय ४३ पोल आकारका रूख काटिने डिभिजन वन कार्यालय ललितपुरका सहायक वन अधिकृत लक्ष्मीराज जोशीले जानकारी दिए। उक्त वनमा खाटेसल्ला, मसला, चिलाउने लगायत प्रजातीका रूख छन्।
‘रूख कटानका लागि वन विभागबाट स्वीकृति आइसकेको छ, अब प्रक्रिया पूरा गरेर डिभिजनले पनि कटानको आदेश दिन्छ,’ जोशीले भने। राष्ट्रिय वनको काठ डिभिजन वन कार्यालयले टेण्डर आह्वान गरेर विक्री गर्ने र सामुदायिक वनको काठ उपभोक्तालाई विक्री गरिने उनले बताए।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सातदोबाटोदेखि लेले सरस्वतीकुण्डसम्म सडक विस्तार गरिरहेको छ। सडक २० मिटरसम्म चौडा बनाउदा दायाँ र बायाँ तर्फका रूख काटिन लागिएको आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार चार खण्डमा निर्माण भइरहेको सडकको दायाँ–बायाँ किनारमा १–१ मिटरको फुटपाथ र नाली रहनेछ। सो खण्डको सडक निर्माणको ठेक्का पप्पु महालक्ष्मी वल्र्डवाइड जेभीले लिएका छन्।
२०७४ साउन १६ गतेबाट काम थालिएपनि यसको कामको प्रगती जम्मा १० प्रतिशत रहेको सूचना अधिकारी श्रेष्ठ बताउँछन्। साढे ३७ करोडको बजेट रहेकोमा अहिलेसम्म साढे ५ करोड रकम सकिएको छ।





