प्रदूषण नियन्त्रण गर्न उपत्यकाका १८ स्थानीय तहकाे ९ बुँदे प्रतिवद्धता

काठमाडौं–उपत्यकाको प्रदूषण नियन्त्रण, फोहोरमैला व्यवस्थापन एवं हरियाली कायम गर्न उपत्यका नगरपालिका फोरम काठमाडाैंले ९ बुँदे प्रतिवद्धता जनाएको छ।

उपत्यका नगरपालिका फोरम काठमाडौंको पहिलो विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन। तस्बिर सौजन्य : चन्द्रमणि भट्टराई।

काठमाडौं र ललितपुर महानगरपालिकासहित उपत्यकाका १८ वटा नगरपालिकाका जनप्रतिनिधि सम्मिलित उक्त फोरमको मंगलबार ललितपुरमा बसेको पहिलो विस्तारित बैठकले ‘संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको, स्वच्छ र स्वस्थ वातावरण अपरिहार्य रहेको तथ्यलाई मनन गर्दै प्रदूषण नियन्त्रणका काम गर्ने प्रतिवद्धता जनाएको हो।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा फोरमका संयोजक एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, ‘वातावरणीय स्वच्छता हाम्रो प्रतिवद्धता हो। हामीले गर्न सक्ने काम आफैं गर्छाैं, बाँकी प्रदेश र संघ सरकार समक्ष प्रस्ताव गर्नेछौं।’

‘काठमाडौं उपत्यकाको समुन्नति र समृद्धिका लागि स्वच्छ हावामा सास फेर्न, शुद्ध पानी पिउन, शान्त र सौम्य पर्यावरणमा रम्न पाउने तथा उर्वर र हरियालीयुक्त जमिन तथा जलचरको सुरक्षित आश्रयस्थल सहितको स्वच्छ नदी र यसको उपयोगलाई न्यूनतम मापदण्ड मानी विकास निर्माणका कार्य गर्दा समेत वातावरणमा प्रतिकूल असर नपुग्ने कुराको सुनिश्चितता गरिनेछ, ’ प्रतिवद्धता सार्वजनिक गर्दै उनले भने।

संयोजक शाक्यले जारी भएका प्रतिवद्धतालाई कार्यान्वयनको चरणमा लग्नुअघि कार्ययोजना बनाइने बताए।

यी हुन् प्रतिवद्धता
–स्वच्छ वातावरणमा नवजीवनका लागि अत्यावश्यक भएकोले काठमाडौं उपत्यकाको हालको प्रदूषणको मात्रालाई क्रमशः न्यूनीकरण गर्दै जानेछौं।

–स्वच्छ तथा स्वस्थ वातावरण मानवको मौलिक हक तथा नैसर्गिक अधिकार भएकोले यसतर्फ काठमाडौं उपत्यका भित्रका स्थानीय सरकारहरु सचेत, संवेदनशील र मानव हित प्रबद्र्धन गर्न कटिबद्ध छौँ।

–काठमाडौं उपत्यकाको वातावरणीय प्रदूषणलाई न्युनीकरण गरी बस्न योग्य, जीवन्त तथा उन्नत सहर बनाउन महानगरपालिका÷नगरपालिकाहरु संयुक्त तथा एकल रुपमा कार्य गर्नेछौँ। वातावरण सम्बन्धी नीति, कानुन र मापदण्ड तर्जुमा गर्न तथा प्रभावकारी कार्यान्वयन गरी प्रदूषण घटाउन हाम्रो संस्थागत संरचनाहरु परिचालित हुनेछन्।

–काठमाडौं उपत्यकाको वातावरण संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्दै वैज्ञानिक रुपमा वातावरण प्रतिकूलका हानीकारक प्रभाव तथा असरहरुलाई घटाउन एकीकृत रुपमा जनचेतना, अनुसन्धान, तथ्यांक् संकलन तथा विश्लेषण गरी वातावरणीय न्यायको निम्ति सहयोग, सहकार्य र साझेदारीका कार्यक्रमहरु गर्न सामूहिक रुपमा प्रतिबद्ध छौँ।

–उपत्यकाको प्रदूषण घटाउन फोहाेरमैलाको वैज्ञानिक व्यवस्थापन, वृक्षरोपण गरी हरियाली प्रबद्र्धन, पुराना सवारी साधन विस्थापन, ढल निकासलाई नदीको प्रवाहीकरणबाट पूर्णतः अलग गरी निर्मलीकरण गर्ने तथा प्रदूषणलाई बढावा दिने हानीकारक उद्योगधन्दा तथा पेशा व्यवसायलाई सुधार गर्दै जानेछाैं।

–विकास निर्माणका कार्यहरु गर्दा वातावरणमा प्रतिकुल प्रभाव नपर्ने-नपार्ने तर्फ पर्याप्त सजकता अपनाउने छौँ।

–सवारी साधनबाट निस्कने धुवाँ तथा धुलोलाई कम गर्न यातायातलाई दीगो र वातावरण मैत्री बनाउने कार्यका लागि इन्धनको गुणस्तर कायम गर्दै स्वच्छ ऊर्जाको उपयोगका लागि अग्रसर हुनेछौँ।

– वातावरणीय स्वच्छता र वातावरणीय न्याय कायम गर्न सरकार, समुदाय, व्यवसायी, उद्यमी, नागरिक समाज र अन्य सरोकारवालाहरुबीच आवश्यक सहकार्य-साझेदारीलाई प्रोत्साहित गर्नेछौँ।

–स्वच्छ वातावरणका लागि आवश्यक कार्य गर्न परस्परमा छलफल, परामर्श, अन्तर्क्रिया जस्ता कार्यक्रमहरु हामीहरुबीच निरन्तर सञ्चालित हुनेछन् र काठमाडौं उपत्यकाको वातावरणमा अपेक्षाकृत स्वच्छता कायम हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार