दिपावलीमा दिल्लीको प्रदूषण बढ्ने खतरा

काठमाडौं–विश्वका प्रदूषित शहरमध्येको एक भारतको राजधानी नयाँदिल्लीमा दिपावलीको समयमा प्रदूषण अझ बढ्न सक्ने खतरा औंल्याइएको छ।

हिउँदमा बिहानको तापक्रम कम हुँदा हावाको गति न्यून हुने र प्रदूषण बहन नपाउने समस्या बढ्दै गएका बेला दिपावलीमा भूँइचम्पा, पटका पडकाउँदा प्रदूषण बढ्नेतर्फ सचेत गराइएको हो।

दिल्लीको एनसीआर क्षेत्रमा प्रदूषण बढेर श्वास लिन समेत समस्या भइरहेका बेला केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको नेतृत्वमा रहेको उच्चस्तरीय संयन्त्रको बैठक बसेको थियो। बैठकले तिहारको समयमा हावाको ढिलोगतिका कारण प्रदूषण अझ बढ्न सक्ने खतरा औंल्याउँदै दिल्ली–एनसीआरमा एकदेखि १० नम्बरसम्म निर्माण कार्य बन्द गर्ने, ढुंगा, क्रसर उद्योग र प्रशोधन प्लान्ट बन्द गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अहिले धान भित्र्याउने समय भएकाले नयाँदिल्लीसँगै जोडिएको पञ्जाव र हरियाणामा पराल जलाउने गरिन्छ। त्यहाँ पराल जलाउँदा प्रदूषण दिल्ली–एनसीआर क्षेत्रमा फैलन सक्ने नवभारत टाइम्सले समाचारमा उल्लेख गरेको छ।

अहिले बिहानको तापक्रम न्यून हुँदा समेत प्रदूषण बाहिरिन नसकेको विज्ञहरुले बताएका छन्। ९ कात्तिकमा नयाँदिल्ली यो सिजनको सबैभन्दा प्रदूषित दिन बनेको थियो।

मुद्दा चलाउने तयारी
नयाँदिल्ली–एनसीआरमा प्रदूषण बढेन थालेपछि केन्द्र सरकारले निर्देशन उल्लंघन गर्नेमाथि मुद्दा चलाउने तयारी गरेको छ।

भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेअनुसार प्रदूषण नियन्त्रणका लागि भएको निर्देशन पालना नगर्ने सरकारी निकाय एवं प्रदूषण फैलाउनेविरुद्ध आपराधिक मुद्दा दायर गर्ने निर्णय दिल्ली–एनसीआरमा प्रदूषण नियन्त्रण गर्न उपाय खोज्न बनाइएको स्तरीय टोलीले गरेको हो।

अब केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले शहरको अनुगमन एवं निरीक्षण गर्ने छ। र, कानूनको उल्लंघन गर्नेविरुद्ध मुद्दा दायर गरिनेछ। ‘प्रदूषण बढाएकोमा पाइएमा शुरुमा चेतावनी दिइने छ, तर एक दिनमा निर्देशनको पालना नभएमा केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड र राज्यको प्रदूषण नियन्त्रण विभागमा मुद्दा दायर गरिनेछ,’ एक सरकारी अधिकारीलाई उद्धृत गर्दै नवभारत टाइम्सले लेखेको छ। एजेन्सीकाे सहयाेगमा

ताजा समाचार

सम्बन्धित समाचार