सिर्सिया खोला प्रदूषित : वीरगञ्ज महानगरसहित ११ उद्योगविरुद्ध मुद्दा दायर

काठमाडौं– पर्साको विरगञ्ज महानगरपालिका भएर बग्ने सिर्सिया खोला प्रदूषित पारिएको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ।

ढल प्रशोधन नगरेरै खोलामा मिसाउँदा प्रदूषण बढेको र त्यसलाई रोक्नुपर्ने आदेशको माग गर्दै पर्साका अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले वीरगञ्ज महानगरपालिका र १० वटा उद्योगविरुद्ध ९ कात्तिकमा जिल्ला अदालत पर्सामा मुद्दा दायर गरेका हुन्।

प्रदूषित सिर्सिया खाेला। तस्बिर : कविता खड्का।

उनले विरगञ्ज महागनरसँगै लिपनीविर्तामा रहेका सुशील वनस्पति प्रालि, स्टेन्डर लेदर, मरियम लेदर, नेशनल लेदर, नेपाल लेदर, ग्लोबल लेदर, निम्स प्रालि, अरनिका प्रोसेसिङ, अंकिता टेक्सटाइल्सलाई विपक्षी बनाएका छन्।

१ भदौदेखि लागू भएको मुलुकी अपराध संहिता ऐन–२०७४ मा ‘अन्य प्रयोजनका लागि प्रयोग हुने पानी दूषित पार्ने वा पार्न लगाउने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय व्यवस्था छ।’

‘महानगरपालिका र उद्योगीहरुबीच ढलको पानी प्रशोधन गरेर मात्र खोलामा मिसाउने सम्झौता भएको थियो, तर कार्यान्वयन भएन,’ हाकाहाकीसँग कुरा गर्दै अधिवक्ता कुर्मीले भने, ‘मुलुकी ऐनको उल्लंघन भएपछि अदालतमा मुद्दा दायर गरेको हुँ।’

वीरगञ्ज महानगरपालिकाको लापरवाही, सम्बन्धित उद्योगको केमिकलयुक्त दुषित पानी, छाला, रौंजस्ता रसायनयुक्त पानी खोलामा खसालिएकोले खोला प्रदूषित भइ स्थानीयलाई खोलाको पानी उपभोग्य गर्न निकै कठिनाई हुनुको साथै वातावरणको स्वच्छतामा नकारात्मक असर परेको छ,’ अदालतमा दायर मुद्दामा उल्लेख छ।

केही वर्षअघि उक्त खोलाको पानी नुहाउने, लुगा धुने काममा प्रयोग हुँदै आएकोमा पछिल्लो समय उद्योगबाट निस्कासन हुने फोहोर र ढल मिसाउँदा लेदो बग्ने गरेको स्थानीयको भनाइ छ। यो खोला पर्सा र बाराका विभिन्न स्थानीय तह भएर बग्छ।

ताजा समाचार

सम्बन्धित समाचार