उपभोक्ता जागरूक: भन्छन्–स्वच्छ मासु मात्र खाऔं

काठमाडौं– भेटेरिनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरले चैतदेखि भदौ महिनासम्म काठमाडौंका २ सय ७७ मासु पसलमा अनुगमन गर्‍याे। अनुगमनका क्रममा बिक्रीमा राखिएका खसी तथा कुखुराका खान अयोग्य ३७ हजार ४ सय ६२ किलो मासु नष्ट गरेकोे थियो।

बेला–बेलामा कृषि मन्त्रालयले उपत्यकाको विभिन्न मासु पसलहरुमा अनुगमन गर्दा कतिपय पसलमा सरसफाइमा ध्यान नदिएको, अत्याधिक फोहोर हुनुका साथै फोहोर ठाउँमा मासु काट्न गरेको पाइएको छ।

मासु खरिद गर्ने उपभोक्ता मासुको स्वच्छताप्रति कतिको सचेत छन् त? हाकाहाकीले केही उपभोक्तासँग कुराकानी गरेको छ। उनीहरूको विचार जस्ताको त्यस्तैः

स्वच्छ मासु नै खरिद गर्छु : माया बम
बजारमा स्वच्छ मासु पाउन गाह्रो छ। झिंगा नभन्किएको ताजा तथा सफा मासु पसल पुगेर मासु खरिद गर्ने गरेकी छु। स्वस्थकर मासु खरिद गर्दा मासुको उत्पादनदेखि उपभोगसम्म स्वच्छता र स्वस्थतालाई ध्यान दिनुपर्छ। बासी मासु खाँदा त्यसले स्वास्थ्यमा असर पर्ने भएकाले ताजा, सफा र स्वच्छ पसलमा मासु किन्दा सामान्य फ्रिजमा राखिएको भन्दा डिप फ्रिजमा राखिएको मात्र खरिद गर्छु।

बजारमा बासी, मरेका खसीबोकाको मासु पनि बेच्ने गरेको पाइन्छ । यसमा सम्बन्धी निकायले अनुगमन र निगरानी गर्न आवश्यक छ । मानवस्वास्थ्यमा असर गर्ने संवेदनशील विषयमा उपभोक्ता तथा बिक्रेता दुवै सचेत हुनु आवश्यक छ।

सधैँ एकै मासुपसलबाट मासु किन्छु : लक्ष्मी सापकोटा
मासु किन्न जादा पनि वान्ता नै आउला जस्ता मासु पलस पनि छन्। मासु लिन गयो, झिंगा भन्किएका हुन्छन्। त्यसैले जहिले पनि एउटै मासु पसलमा जान्छु। सधैँ सफा र ताजा मासु पाइने भएकाले एउटै मासु पसलबाट किन्छु।

आफू मात्र होइन परिवार सबैको स्वास्थ्यको ध्यान राख्नुपर्छ। म मासु मात्र होइन अन्य खाद्य प्रदार्थ खरिद गर्न पनि सचेत हुन्छु ।

सफा र स्वच्छ मासु मात्र खरिद गर्छु :  मीना ढुंगेल
चाडपर्वमा अझ बढी मासु काटेर फ्रिजमा राख्ने चलन छ। बासी बासुबाट न पोषण मिल्छ न त स्वास्थ्यको लागि नै राम्रो हुन्छ। त्यसैले म सफा र स्वच्छ मासु मात्र खरिद गर्छु । सफा अनि झिंगा नभन्किने पलसबाट मात्रै मासु खरिद गर्ने गरेको छु । दसैंमा त झन घरमा आफन्त आउँछन्। मासुका विभिन्न परिकार बनाउनुपर्छ । त्यसै चाडपर्वका बेला मासु खरिद गर्दा अझ बढी ध्यान दिन्छु ।

मासु किन्नै जान मन लाग्दैन : उषा दास
काठमाडौंमा सफा र झिंगा नभन्किएको मासु पसल भेट्न मुस्किल नै छ। पसलमा मासु किन्न जानै मन लाग्दैन। तर, पसल सफा अनि मासु पनि ताजा छ भने मात्र खरिद गर्छु। मासु काटेर खुला राखिएको, झिंगा भन्किरहेको पसलबाट मासु खरिद गरिद गर्दैन। त्यस्तो पसलको मासु खाँदा झाडावान्ता, हैजाजस्ता रोग लाग्ने सम्भावना बढी हुन्छ ।

स्वच्छ मासु बेच्छन् भन्ने विश्वास नै लाग्दैन : लिला भण्डारी
पसलमा पाइने मासु स्वच्छ छ भनेर विश्वास नै लाग्दैन। त्यसैले सिंगो कुखुरा नै किनेर आफ्नै अगाडि काट्न लगाउँछु । र, मासु लिन्छु।

खसीको मासु किन्दा घर नजिकै बुधबार र शनिबार काट्छन् त्यहीबाट ल्याउने गरेको छु। अरु ठाउँबाट मासु खरिद गर्ने मन लाग्दैन। फेरि सरकारले गरेको अनुगमनमा पनि खान अयोग्य मासु पनि विक्री हुने गरेको सुनेको थिए। त्यसकारण पनि आफ्नो र परिवारको स्वास्थ्यबारे सचेत छु। सधैं सफा र ताजा मासु मात्र खरिद गर्छु।

ताजा समाचार

सम्बन्धित समाचार