ललितपुर–काठमाडौं महानगरपालिकाकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप ५ करोड रुपैयाँको चेक प्रदान गरेको छ।
शनिबार हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले आयोजना गरेको कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई चेक हस्तान्तरण गरेका हुन्।
महानगरको काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुनर्निर्माण गर्न प्रदेश सभा सदस्य राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि गएको जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ उपलब्ध गराइएको थियो । त्यस रकमबाट प्रारम्भिक काम भइसकेको र सम्पन्न कामको प्रतिवेदन प्राप्त भइसकेकोले थप काम अघि बढाउन यो रकम उपलब्ध गराइएको हो ।
काष्ठमण्डप २०७२ वैैशाख १२ मा गएको महाविनाशकारी भूकम्पले पूर्णरुपमा क्षति भएको थियो। यसको पुरातात्विक महत्वलाई पूर्ववत् कायम गर्न भत्कनु पूर्वको स्वरुप, शैली र संरचना अनुसार पुननिर्माण गर्ने-गराउने विषय लामो समयदेखि अन्यौलतामा थियो।
यसैबीच गएको २०७५ साल वैशाख १८ गते काठमाडौं क्षेत्र नम्बर ८ क का प्रदेश सभा सदस्य राजेशकाजी शाक्यको नेतृत्वमा गठित ५५ सदस्यीय काष्ठमण्डप पुनर्निर्माण समितिले नगर कार्यपालिकामा पुननिर्माणका लागि प्रस्ताव पेश गरेको थियो। सोही प्रस्तावलाई आधार मानेर कार्यपालिकाले २०७५ जेष्ठ २४ गते समितिको प्रस्तावबमोजिम पुननिर्माण कार्य अघि बढाउने निर्णय गरेको थियो।





