नेपालगञ्ज– डोटी र डडेल्धुरा जिल्लाका विकट गाउँबाट घुम्ती भिडियो प्रदर्शनी शुरु भएको छ। नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले जलाधार क्षेत्रको संरक्षण र व्यवस्थापनमार्फत् जलीय जैविक विविधता जोगाउन एवं स्थानीयको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले योे सञ्चार अभियान शुरु गरेको हो। प्रदर्शनी टेलिभिजनको पहुँचभन्दा बाहिर रहेको समुदायलाई लक्षित रहेको जनाइएको छ।
सोही क्रममा नेफेजको टेलिभिजन कार्यक्रम ‘पानी’ मा समेटिएका संरक्षण सम्वन्धी सफल कथाको भिडियो संगालो प्रदर्शन गरिन्छ । प्रदर्शनीमा स्थानीय आफंैले गरेका संरक्षणका काम पनि भिडियोमा हेर्न पाउछन्, भने सिकाइ तथा विकल्पका रुपमा आफ्नो जस्तै परिवेशको अर्को समुदायका सफल कथाहरु पनि हेर्न पाउँछन । भिडियो हेरेपछि स्थानीयहरु समस्या समाधानका वैकल्पिक उपाय वारे छलफलमा जुटछन्।

घुम्ती भिडियो प्रदर्शनी असोज ९ गते डडेल्धुराको आलिताल गाउँपालिका ७ को नाउली गाउँबाट शुरु भएको हो। सोही क्रममा डडेल्धुराको नाउली गाउँमा पानीका मुहान संरक्षण गरी आम्दानीका उपाय खोज्न स्थानीय सरकार लागि पर्ने जनप्रतिनिधिले बताएका छन्। भिडियो प्रदर्शनी पछिको छलफलका क्रममा वडा सदस्य लक्ष्मी रोका मगरले सो कुरा बताएकी हुन्।
विकल्पका रुपमा नाउलीवासीको समस्या समाधान गर्न सक्ने दुईवटा भिडियो प्रस्तुत गरिएको थियो, जसमा मध्यकर्णाली जलाधार क्षेत्र अन्तर्गत दैलेखमा सफल भएका आकासे पानी संकलन र थोपा सिंचाइ प्रविधिबारे तयार पारिएका भिडियो थिए।
यस्ता भिडियोबाट थुप्रै कुरा सिक्न सकिने सहभागी स्थानीयले बताएका छन। संरक्षण अभियन्ता टेकबहादुर रोक्का मगरले भिडियो हेरेपछि संरक्षणका काममा स्थानीय सहभागिता बढाउन सहयोग पुग्ने धारणा राखे।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रेम घर्तीमगरले कृर्षिमा राम्रो सम्भावना रहेपनि पानी अभाव भन्दैमा चुप लागेर बस्न नहुने धारणा राखे। ‘गाउँमा मोटरबाटो पुग्नै लागेको छ, तलबाट आउने मोटर हामीले आफ्नो बारीको उत्पादनले भरेर पठाउन सकौँ,’ उनले आफ्नो योजना सुनाए। यसका लागि उनले बर्खामा नाउली मुहानमा खेरजाने पानी संकलन गरी हिउँदमा खेती गर्ने उपायबारे जुटन पनि सबैलाइ आग्रह गरे।
नाउलीवासी आफैंले गरेको संरक्षणको कथा आफ्नै घर आगनमा हेर्न पाउदा निकै खुसी भएका थिए। साथै अरुले गरेका संरक्षणका कथाबाट पनि धेरै कुरा सिकेर अब व्यवहारमा उतार्ने पनि जनाएका थिए।
यसैगरी, ठूलीगाड जलाधार क्षेत्र अन्तर्गत डोटीको बडीकेदार गाउँपालिका–१ का अध्यक्ष डबलबहादुर बोहराले बिषादी, हानिकारक जाल तथा विस्फोटक पदार्थ प्रयोग गरी ठूलीगाडमा माछा नमारी दिन आग्रह गरेका छन्।
पहिले असला माछाले प्रख्यात ठूलीगाड नदीमा अहिले माछाको अभाव भएपछि स्थानीय सरकार र समुदायको पहलमा माछा संरक्षण नीति बनेको छ। उनले नीति कार्यन्वयनमा सहयोग गर्न पनि स्थानीयलाई आग्रह गरेका छन्। प्रदर्शनीको शुरुमा यहि नीति बारेको भिडियो प्रदर्शन गरिएको थियो। माछा संरक्षण नीतिबारे जानकारी गराउन र स्थानीयमा चेतना फैलाउन भिडियो प्रदर्शनी निकै फलदायी हुने उनको बुझाइ छ।
विकल्पका रुपमा आयोजक नेपाल वातारण पत्रकार समूहले राकमस्थित कर्णाली नदीमा स्थानीय सरकार र माझी समुदायले गरेका संरक्षणका सफल कथा समेटिएका दुई वटा भिडियो पनि प्रस्तुत गरेको थियो। जसमा नदीमा माछा मार्न छोडेर माछा पालनमा लागेका स्थानीय माझी समुदाय र व्यावसायिक रुपमा तरकारी खेती गरी आम्दनी गर्न सफल पूर्व मछुवाराको कथामा आधारित भिडियो समेटिएका थिए।
भिडियो हेरेपछि छलफलका क्रममा परम्परागत बिधिबाट मात्रै माछा मार्नुपर्ने स्थानीयले बताएका छन्। माछालाई आम्दानीको प्रमुख आधार बनाएकाहरु आम्दानीको अन्य विकल्पतर्फ लाग्न पनि सहमत भएका छन्। सहभागीले वैकल्पिक पेशाका रुपमा माछापालन, बाख्रापालन, व्यावसायिक तरकारीखेती जस्ता व्यावसाय गर्न सकिने धारणा राखे।
नेफेजले पानी सञ्चार अभियान अन्तर्गत पहिलो चरणमा कर्णाली, राप्ती र महाकाली नदी अन्तर्गत ८ वटा जलाधार तथा तटीय क्षेत्रमा भिडियो प्रदर्शनी गर्ने जनाएको छ। जसअनुसार असोज ९ गते डडेल्धुराको रंगुन जलाधार क्षेत्रमा पहिलो र असोज ११ गते डोटी जिल्लाको ठूलीगाड जलाधार क्षेत्रमा दोस्रो प्रदर्शनी सम्पन्न भएका हुन्।

रंगुन जलाधार क्षेत्रमा पर्ने नाउली गाउँको कथा
विक्रम संवत २०६९ सालमा डडेल्धुराको नाउली गाउँ पुगेको नेपाल वातावरण पत्रकार समूहको टोलीले नाउली गाउँ पानीको अभावमा काकाकुल भएको अवस्था देख्यो। गाउँको छेवैमा रहेको एक मात्र नाउला उनीहरुको बाँच्ने आधार थियो।
तर, त्यो नाउलाको पानीले करीब २८ परिवार स्थानीयको तीर्खा मेटन सकेको थिएन। त्यसैले स्थानीयले आफ्नो घरमा ताला लाउदैनथे तर, पानीको जोहो गर्न नाउँलामा अनिवार्य ताला लगाउन् पर्थ्याे। बिहानबेलुकी सबैलाई समान रुपमा पानी बाँड्थे। सुख्खायामका केही दिन त नाउलीवासीले प्रतिव्यवक्त १ लिटरसम्म पानी बाँडेर गुजारा गरे।
पछि नाउलीवासीले मुहान संरक्षणका काम शुरु गरे। नाउलाको शिरानमा वृक्षरोपण गरे, चरीचरन बन्द गरे, ससाना ड्याम तथा खाल्टाखुल्टी बनाएर वर्खाको पानी पुनर्भरण गर्ने उपाय लगाए। यसबीचमा उनीहरूलाई केही संघसंस्थाले पनि सघाए।
६ वर्ष पछि नेपाल वातावरण पत्रकार समूहको टोली फेरि त्यहाँ पुग्यो।

यतिन्जेल मुहान संरक्षणका लागि उनीहरुले गरेका प्रयास सफल भएका थिए। नाउलामा पानीको स्रोत बढेको थियो। यतिन्जेल यहाँ घरपरिवार संख्या बढेर ३४ पुगेका थिए तर, स्थानीयले दैनिक ३५ लिटरसम्म पानी पाउन थालेका थिए। खानेपानीको समस्या समाधान भएपछि उनीहरू व्यावसायिक तरकारीखेतीको सोचमा थिए। कृषिमा निर्भर यहाँका ३४ वटै परिवारमध्ये केहीले टनेल प्रविधि अपनाएर तरकारी खेती गरेका थिए, भने कतिले थोपा सिंचाइका प्रयास पनि शुरु गरेका थिए।

२०७५ साल जेठ महिनामा नाउलीवासीको यो सफलताको कथाबारे नेपाल वातरण पत्रकार समूहले भिडियो तयार पारेर टेलिभजन कार्यक्रम ‘पानी’ मार्फत प्रसारण गरेको थियो। तर, यो कथा उनीहरुले हेर्न पाएका थिएनन्। त्यसैले यो कथा उनीहरुलाई देखाउने उद्देश्यले नेफजको टिम नाउली गाउँ पुग्यो।
योसँगै पानीको व्यवस्थापन तथा दिगो उपयोगबारे थप उपाय जान्न उत्सुक नाउलीवासीलाई अन्य २ वटा भिडियो पनि देखाइयो। जसमा आकासेपानी संकलनका लागि बनाइएको घैंटो ट्यांकी तथा थोरै पानीमा धेरै आम्दानी गर्न सकिने थोपा सिंचाइ प्रविधि सम्बन्धि भिडियो थिए। यी प्रविधि नाउली गाउँ जस्तै भुगोल तथा पानीको समस्या भोगेको दैलेख जिल्लामा सफल भएका छन्।
ठूलीगाड जलाधार क्षेत्रमा पर्ने विपीनगरको कथा
डोटी जिल्लाको ठुलीगाड नदी वडीकेदार गाउँपालिका– १ को विपीनगरलाई आगनमा पारेर बग्छ। कर्णाली नदीमा समाहित हुने ठूलीगाडले कैलाली र डोटीको सिमाना पनि छुट्याउँछ। ठूलीगाड मिठो माछाका लागि प्रख्यात छ।

यहाँ चुच्चे र बुच्चे असला माछा विशेष मानिन्छन्। यहाँको माछाले विपीनगरलाई पनि लोकप्रिय बनाएको छ। विपीनगरका व्यापारीले ठूलीगाडको माछा कैलालीको सहजपुर, अत्तरिया लगायतका बजारसम्म पुर्याउथे। स्थानीयको रोजिरोटि तथा व्यापारीको आम्दानी राम्रै हुन्थ्यो।
स्थानीय ८५ वर्षीय पदमबहादुर बोहरा आफू सानो छँदा ठूलीगाडमा प्रशस्त माछा पाउने गरेको सम्झन्छन्। त्यतिबेला नदीमा पानीको मात्रा पनि बढी नै हुन्थ्यो, ठूल्ठूला ढुंगा पनि हुन्थे नदीमा। र, माछा खेल्ने ठूल्लठूला तलाउ हुन्थे, तलाउमा माछा पाइन्थे। तर, अचेल नदीमा पानीको मात्रा पनि घटेको छ, भने पहिले जसरी प्रशस्त माछा पाइँदैनन्।
यसरी नदीमा माछामा कमी आउनुमा बाढीपहिरो तथा जलाधार क्षेत्रका वनमा आगलागी वढ्नु जस्ता कारण रहेको उनी ठान्छन्। जथाभावी बनेका सडक र पछिल्लो समय माछा मार्न प्रयोग भएका हानिकारक विधि पनि मुख्य कारण हुन्।
यसरी ठूलीगाडमा माछा कम पाइन थालेपछि माछाको भरमा जीवन धान्नेहरु थप संकटमा परे।

समस्या समाधान लागि वडा अध्यक्ष बोहराले माछा संरक्षणको पहल गरे, माछा संरक्षण नीति गाउँपालिकाबाट पारित गराए। अहिले यहाँ हानिकारक विधि प्रयो गरेर माछा मार्न बन्देज गरिएको छ। तर, आश्रितहरुलाई कुनै विकल्प नहुँदा नीति कार्यान्वयन हुनेका शंका देखिन्छ।
नेपाल वातवरण पत्रकार समूहले टेलिभिजन कार्यक्रम ‘पानी’ मा यीनै संरक्षण अभियन्ता डबल बोहराको प्रयासलाई समेटेको थियो।






