ललितपुर । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय व्यवस्थापनमा सम्बन्धित निकायहरुबिच समन्वयको कमीका कारण हरेक नागरिकको स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको हनन् भएको बताएका छन् ।
बिहीबार मन्त्रालयमा ‘हाल भैरहेको वायु प्रदूषण नियन्त्रण तथा फोहोर मैला व्यवस्थापन विषयमा मन्त्री पण्डितको अध्यक्षतामा सरोकारवाला निकायहरुसँग बैठक बसेको थियो ।
बैठकमा बोल्दै मन्त्री पण्डितले आम नागरिकको स्वस्थ वातावरणमा बाँच्न पाउन अधिकार हनन् भएको भन्दै वातावरणीय व्यवस्थापन गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्तीमा मन्त्री पण्डितले प्लाष्टिकजन्य पदार्थको नियन्त्रण गर्न खाद्य वस्तुको प्याकेजिङमा प्रयोग हुने वस्तुको विकल्प खोजी गर्न, सडक निर्माण र मर्मतका क्रममा धुलो नउड्ने व्यवस्था गर्न, निर्माणाधीन सडक निर्माण कार्य समयमै सम्पन्न गर्न, र्इँटा, सिमेन्टलगायतका उद्योगबाट उत्सर्जन हुने धुलोधुँवा तथा प्रदूषित पानीलाई सरकारले तोकेको मापदण्डभित्र कायम गर्न, अस्पतालजन्य फाहोरको उचित व्यवस्थापन गर्न, नगरपालिकाहरुले फोहोरमैलाको संकलन र विसर्जनमा उचित व्यवस्थापन गर्न, खुल्ला रुपमा बाल्ने जलाउने कार्य गर्न र जथाभावी फोहोर फाल्नेलाई कारवाही गर्न, सडकमा छाडा छोडिएका गाईवस्तु तथा कुकुरलाई नियन्त्रण गर्न र तत्काल यी कार्यहरुमा प्रगति हुने गरी काम गर्न निर्देशन दिएको उल्लेख छ ।
उक्त छलफलमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग मन्त्रालय, भौतिक तथा यातायत व्यवस्था मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, सडक विभाग, वातावरण विभागलगायतको उपस्थिति थियो ।