१२ असोज, ललितपुर।
वन्यजन्तुको चोरी–शिकार र अवैध व्यापार नियन्त्रणलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमले तथ्यपरक र जिम्मेवार ढंगले विषय उठाउनुपर्नेमा संरक्षणकर्मीले जोड दिएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको छलफलमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुको अवैध व्यापार र चोरी, शिकार नियन्त्रणका विषयमा सञ्चारकर्मी र संरक्षणकर्मीबीच बहस भएको थियो ।
पत्रकार तथा संरक्षण क्षेत्रमा कार्यरत विज्ञ र अभ्यासकर्तालाई एकै ठाउँमा ल्याई वन्यजन्तु संरक्षणसम्बन्धी समाचार लेखन, सूचना सम्प्रेषण, अनुभव आदानप्रदान तथा जनचेतना अभिवृद्धिका उपायबारे कार्यशालामा विचार–विमर्श गरिएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका कायममुकायम निर्देशक एवं जलवायु परिवर्तन विभागका प्रमुख मनिषराज पाण्डेले वन्यजन्तुसम्बन्धी विषय गहन भएको बताउँदै संरक्षणका क्षेत्रमा राष्ट्रिय क्षमता विकास गर्नुपर्ने बताए । वन्यजन्तु चोरी शिकारी ठूलो अपराध भएकाले यसलाई बृहत रूपले हेर्नुपर्ने उनको भनाइ थियो । ‘यसलाई वातावरणीय अपराधका दृष्टिले हेर्नुपर्छ, कसरी अपराध न्यूनीकरण गर्न सक्छौँ भनेर ध्यान दिनुपर्छ,’ उनले भने ।
कोषका वरिष्ठ संरक्षण अधिकृत विष्णुसिंह ठकुरीले मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुको अवैध व्यापार र चोरी, शिकारका विषयलाई सञ्चारमाध्यमले कसरी तथ्यपरक, जिम्मेवार र प्रभावकारी ढंगले उठाउन सक्छ भन्ने विषय नै महत्वपूर्ण र प्राथमिकताको विषय रहेको बताए ।
कार्यक्रममा वन्यजन्तु संरक्षणमा कोषले गर्दै आएका काम तथा संस्थाको भूमिकाबारे जानकारी गराउनुका साथै वन्यजन्तुसम्बन्धी समाचार संकलनका विभिन्न पक्षमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो । कार्यशालामा कोषका संरक्षण अधिृकत एवं सूचना अधिकारी गोविन्दप्रसाद पोखरेलले वन्यजन्तुसम्बन्धी समाचार संकलन, विषय छनोट, स्रोतको प्रयोग तथा संरक्षणका संवेदनशील विषयलाई समाचारमा प्रस्तुत गर्ने तरिकाबारे सहजीकरण गरेका थिए ।
रासस





