काठमाडौंं– दसैं, तिहारको मुखमा दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको छ। जसको प्रत्यक्ष असर उपभोक्ताको भान्सासम्म परेको छ।
व्यापारीहरूले आफूखुसी मूल्यवृद्धि गर्दा सरकार र सम्बन्धित निकायबाट नियन्त्रण र कारबाहीका लागि चासो देखाएको पाइदैन । भाडादरदेखि लिएर खाद्यान्न र तरकारीको मूल्यमा भएको वृद्धिले दैनिक ज्यालादारी गरी खाने उपभोक्ता मारमा परेको छन्। दसैंतिहारको मुखमा हुने मूल्यवृद्धि र यसको नियन्त्रणबारे के भन्छन् उपभोक्ता उनीहरूको भनाइ जस्ताको त्यस्तै ।
सरकारले चाहेमा मूल्यवृद्धि रोक्न सक्छ : सीताराम सिमाल
व्यापारीहरूले दसैंतिहारमा ‘यही हो पैसा कमाउने मौका’ भनेर हरेक सामानमा मूल्यवृद्धि गर्ने गर्छन । र, हामी जस्ता सर्वसाधारणले मनपरी बढाइएका खाद्यदेखि लुगाफाटसम्म किन्नुपर्छ। यसबेला खाद्यान्न, लुगाकपडादेखि अन्य वस्तुको माग पनि बढि नै हुन्छ । त्यसैले पनि हरेक सामानमा महँगी छ। जसको कारण विपन्न उपभोक्ता मारमा परेका हुन्छन्।
सरकारले चाहेमा मूल्यवृद्धि नियन्त्रण गर्न सक्छ । तर, सरकार चाहदैन। त्यसको अनुगमन गर्न सरकारको काम हो । जबसम्म सरकारले मूल्य वृद्धि गर्ने र उपभोक्तालाई ठग्ने व्यापारीलाई कारबाही गर्दैन तबसम्म यो प्रवृति कायमै रहन्छ ।
मूल्यवृद्धि धान्न गाह्रो भो : विजयराज थापा
अरूबेलाभन्दा चाडपर्वहरूमा मूल्यवृद्धि हुन्छ । हरेक सामानमा मूल्यवृद्धि भएको छ । हामीलाई खप्न गाह्रो भैरहेको छ ।
खान, लाउन कुराहरूमा मूल्य वृद्धि हुँदा धान्न नसक्ने अवस्थामा हामी गरीव वर्ग पुगेका छौं ।
मूल्य वृद्धिप्रति सरकार संवेदनशील हुनुपर्छ । बेला–बेलामा अनुगमन गर्नुपर्छ। तर, अनुगमन गरेको देखिदैन, गरेपनि फितलो छ। हरेक कुरामा मिसावट। न हामीले गुणस्तर सामान उपभोग गर्न पाएका छौं नत सस्तो नै । यो मूल्यवृद्धिले गर्दा आमजनता पीडित छौं।
झन ऋणको भारी थप्छ : रत्नबहादुर भण्डारी
दसैंमा प्रायः ले खाद्य, मासु र लुगा किन्छन् । यस्तो अवस्थामा व्यापारीहरूले पैसा कमाउने पर्वका रूपमा लिएर हरेक समानमा मनपरी रूपमा मूल्यवृद्धि गरेका छन् । सरकार सिहंदरबारबाट कराइरहेको छ, तर कार्यान्वयन भएको छैन । त्यसमाथि हामीजस्ता भूकम्प पीडितका लागि त यो ‘दसैं दसा जस्तै’ हो । त्रिपालमूनीको बास छ । त्यसमाथि यो दसैंतिहारमा मूल्यवृद्धिले गर्दा हामी भूकम्पपीडिलाई ऋणको बोझ मात्र बढाएको छ। सरकारले दिएको ५० हजारमा घरको निर्माणमा सम्भव छैन।
दसैं तिहारमा छुटको व्यवस्था हुनुपर्छ : सीता अस्लामी
हरेक दिन ज्यालादारी गरेर खान पाउनेका लागि दसैंतिहा सुखको अनुभूति गर्न आइदिए हुन्थ्यो जस्तो लाग्छ । यस अवसरमा व्यापारीले पनि विभिन्न सरसामानमा छुटको व्यवस्था गर्नुपर्छ। जसले गर्दा गरीबको चुल्होमा पनि आगो बल्न सकोस्। तर, चाडपर्वकै बेलामा एकजोर नयाँ कपडा फेर्न उपभोक्ता मूल्यवृद्धि हुँदा निरास हुनपर्छ।
सरकारले चाडपर्वमा खसीबोका तथा खाद्यवस्तुमा मूल्य वृद्धि नगर्ने र सस्तो र सुलभबिक्री गर्न व्यापारीलाई अनुरोध गर्नुपर्छ। र, व्यापारीले पनि उपभोक्तालाई नठगी सुलभ मूल्यमा गुणस्तरीय सामान बेच्नुपर्छ । व्यापारीले यही हो पैसा कमाउने मौका भनेर मनपरी मूल्यवृद्धि गरेका हुन्छन्, यसलाई रोक्न सरकारले अनुगमन गर्नुपर्छ।
दसैंमा हुने कालोबजारीलाई रोक्नुपर्छ : यशोधा धमला
चाडपर्व सुरू भए लगत्तै मूल्यवृद्धि हुन्छ। यो बेलामा व्यापारीले कालोबजारी गर्न मौका पाउँछन्। यसलाई रोक्न सरकारले अनुगनम गर्नुपर्ने हो। तर, भएको देखिदैन। हरेक सामान किनेर खानुपर्छ। हरेक सामानको मूल्य पसल अनुसार फरकफरक हुन्छ। व्यापारीले चाडपर्वमा जसरी पनि किन्छन् भनेर दैनिक उपभोग्य वस्तु तथा लुगामा मूल्यवृद्धि गरेका छन्। व्यापारीले हरेक सामानमा तीनगुणासम्म महँगी बढाउछन्। यसको सीधैं असर हामी गरीब उपभोक्तालाई परेको छ।





