काठमाडौं– यस वर्षको मनसुन औसत समयभन्दा एक साता ढिलो मात्र सकिने भएको छ।
नेपालबाट औसतमा २३ सेप्टेम्बरमा मनसुन हट्नुपर्ने भएपनि यस वर्ष अक्टोबर पहिलो साता मात्र सकिन लागेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद राजन प्रधानाङ्गका अनुसार मनसुनको न्यून चापिय रेखा बिलय भइसकेपनि मनसुन एकै ‘प्याटन’ मा नहुने भएकाले मनसुन हट्न केही समय लाग्ने भएको हो। महाशाखाको पछिल्लो १० वर्षको तथ्यांक अनुसार मनसुन अक्टोबरमा मात्र हट्को छ। याे वर्ष अाैसतभन्दा २ दिन अगाडि जुन ८ मै मनसुन प्रवेश भएकाे थियाे।
माैसमविद् प्रधानाङ्ग विगत १० वर्षदेखि मनसुन अक्टाेबरसम्म सक्रिय हुने गरेकाे बताउँछन् । ‘सामान्यतया मनसुन सेप्टेम्बरमा सकिनुपर्ने हाे तर विगत १० वर्षदेखि अक्टाेबरसम्म सक्रिय भइरहेकाे छ,’ उनले भने, ‘याे वर्ष पनि अक्टाेबर पछि मात्र निस्क्रिय हुने देखिन्छ ।’
यद्यपी, दसैं अगाडि नै मनसुन सकिने भएकाले हिलोको चिन्ता नहुने देखिएको छ। यस वर्षको दसैं २५ असोजबाट शुरु हुँदैछ।
यस वर्ष नेपालमा औसतभन्दा २ दिन अगाडि अर्थात १० जुनमा मनसुन भित्रिएको थियो। तर, मनसुन अन्त्य हुन १५ दिन मात्र बाँकी रहँदा बंगालको खाडीमा डाय नामक सामुन्द्रिक आँधी गएपछि नेपालमा पनि वर्षा भएको थियो।
मनसुन लामो अवधिसम्म रहनुको एउटा कारण डाय नामक सामुन्द्रिक आँधीको प्रभाव समेत रहेको महाशाखाले जनाएको छ।





