काठमाडौं–फौजदारी संहितामा असहमति जनाउँदै पेट्रोलियम पदार्थ ढुवानीकर्ताहरूले ढुवानी ठप्प पारेपछि उपभोक्ता मारमा परेका छन् ।
मुलुकी अपराध संहितामा दुर्घटनामा कसैको ज्यान गए १० वर्षसम्म कैद सजाय र जरिवाना वा दुवै सजाय हुने प्रावधानको विरोध गर्दै यातायात मजदुरहरूले गत बुुधबारदेखि इन्धन बोक्न छाडेपछि विभिन्न पेट्रोल पम्पहरूमा सर्वसाधरणको लाम देखिन थालेको छ ।
काठमाडौं उपत्यकामा रहेका पेट्रोल पम्पमा भीडभाड देखिने गरेको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार शुक्रबारदेखि पेट्रोल र डिजेलको बिक्रीमा कोटा तोकिएको छ ।
उनका अनुसार अब प्रति मोटरसाइकलले ५ लिटर र चारपांग्रेले १५ लिटर पेट्रोल पाउनेछन् ।
डिजेलको हकमा उपत्यका र उपत्यकाबाहिर जाने सवारीका लागि छुट्टाछुट्टै परिमाण कायम गरिएको उनले बताए । जसअनुसार काठमाडौं उपत्यकाका सवारीले प्रतिसवारी ५० लिटर र उपत्यकाबाहिर जाने सवारीले ७५ लिटर डिजेल पाउने निगमले जनाएको छ ।
यता, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ट्याङ्कर चालकबाट साँचो थुतेर चलाउन थालिएको जनाएको छ ।
सरकारले दिएको चेतावनी अटेर गरेको भन्दै मन्त्रालयले चाबी थुत्न शुरू गरेको आपूर्तिमन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए ।
अमलेखगञ्ज र भैरहवामा गरी ३० वटाभन्दा बढी ट्याङ्कर नियन्त्रणमा लिई चलाउन शुरू गरिसकेको उनले जनाए ।
नेपाल प्रहरी र नेपाली सेनाका चालकहरूलाई लिएर मन्त्रालयले पेट्रोलियम पदार्थ ढुवानी गर्न शुरू गरेको छ ।
तस्वीर : अमिष रेग्मी









