संसदमा प्रश्न : निजगढ विमानस्थलका लागि रूख काट्न किन हतार ?

काठमाडौं– बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पहिलो चरणमा ७ लाख ६९ हजार रूख कटानका लागि सरकारले प्रक्रिया अगाडि बढाएका बेला सांसदहरूले प्रतिनिधिसभामार्फत् सरकारको ध्यानाकर्षण गराएक छन्।

सांसद त्रिपाठी।

तत्कालीन एमालेको चुनाव चिह्न लिएर निर्वाचन लडेका सांसद हृदयेश त्रिपाठीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नबनाइ रूख कटानका लगि हतार किन गरिएको भन्दै प्रश्न गरे।

निजगढ विमानस्थलका लागि पहिलो र दोस्रो चरणमा गरी साढे २४ लाख रूख कटान गर्दा पर्यावरणमा गम्भीर क्षति पुग्ने भन्दै वातावरण एवं वनविज्ञहरूले गम्भीर हुन आग्रह गरिरहेका बेला सांसद त्रिपाठीले प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै वातावरणीय क्षतिबारे वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जवाफ दिनुपर्ने माग गरे।

विमानस्थल निर्माणका लागि लगानीको स्रोतबारे पनि सरकारले जवाफ दिनुपर्ने माग गर्दै त्रिपाठीले रूख कटान गरी त्यहाँ जग्गा कब्जा गरेर बस्ती बस्ने आशंका उब्जिएको बताए।

यसैगरी, बाराबाट निर्वाचित नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले पनि डीपीआर बिना नै रूख कटानको तयारी भएकोमा आपत्ति जनाएका छन्। उनले भने, ‘म मन्त्रीलाई सोध्न चाहन्छु रूख कटान हुँदा पर्यावरण र मानवीय क्षति रोक्न वृक्षरोपण कहिले हुँदैछ ?

सांसद चाैधरी।

साढे २४ लाख रूख कटान गरेबापत सोधभर्ना स्वरुप ६ करोड बिरुवा रोप्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) मा उल्लेख छ। सांसद चौधरीले भने, ‘३८ हजार हेक्टर वृक्षरोपण कहाँ गरिन्छ। त्यस क्षेत्रको पानीको मुहान सुक्दैछ। वैकल्पिक सिंचाइकोे व्यवस्था के गरिँदैछ?’ चौधरीले हचुवाका आधारमा रुख कटानी गनहुने बताए।

बुधबार मात्र नेपाली कांग्रेसका नेता डा शेखर काेइरालाले विमानस्थल निजगढमाभन्दा सागरनाथमा उपर्युक्त हुने बताएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार