इटहरी–ल्याण्डफिल साइट अर्थात् फोहोर फ्याँक्ने ठाउँमा जो कोही जान मन गर्दैनन्। फोहोरको निस्सासिने दुर्गन्ध, झिँगा आदि सम्झेर ल्याण्डफिल जान चाहाँदैनन। धनकुटा नगरपालिकाको भने फरक कथा छ। जो पनि यो ल्याण्डफिलमा जान चाहान्छन्। तर, सित्तैमा जान भने पाइँदैन।
५ हजार तिरेर मात्रै जान सकिन्छ। यसबारेमा धनकुटा नगरकार्यपालिकाले गत वर्षको फागुन २९ गते निर्णय नै गर्याे–संस्थागत प्रवेश शुल्क ५ हजार। नगरपालिकाले व्यक्तिगत प्रवेश शुल्क भने लिँदैन। संस्थागत शुल्क ५ हजार तोकेपछि धरानले ३१ स्थानीय तहबाट १ लाख ५५ हजार कमाइ गरिसकेको छ।
प्रदेश १ र २ का विभिन्न स्थानीय तहसहित प्रदेश ३ को हेटौडा उपमहानगरपालिका, प्रदेश ५ को नेपालगञ्ज उपमहानगर र प्रदेश ७ को गोदावरी नगरपालिकाका प्रतिनिधिले यो ल्याण्डफिल साइटको अवलोकन गरिसकेका छन्।
हालसम्म २ सय भन्दाबढी स्थानीय तहले धनकुटा ल्याण्डफिल साइटको अवलोकन भ्रमण गरेको धनकुटा नगरपालिका, पर्यटन शाखा प्रमुख विकास अधिकारीले जानकारी दिए।
बस्तीसँगै ल्याण्डफिल साइट
प्रदेश १ को अस्थायी राजधानी विराटनगरको केसलिया खोला किनारको ल्याण्डफिल साइट बस्तीबाट निकै टाढा छ। तर, ल्याण्डफिल साइटका कारण दुर्गन्ध बढेको भन्दै बेलाबेला विरोध हुने गर्छ। धनकुटाको ल्याण्डफिल साइट भने बस्तीबाट डेढ सयदेखि ३ सय मिटर नजिक छ। बस्तीसँगै ल्याण्डफिल साइट हुँदा स्थानीयको विरोध छैन, झन खुसी छन्।
धनकुटाको व्यवस्थित ल्याल्डफिल साइट भएकाले कसैको विरोध एवं अवरोध नभएको ठम्याइ छ, खनालको। खनालका अनुसार घरबाट निस्कने फोहोर छुट्याइनुपर्छ। कुहिने, नकुहिने, पुनःप्रयोग गर्न मिल्ने। खनाल भन्छन, ‘फ्याक्ने पर्ने फोहोर ल्याण्डफिल साइटमा ल्याइसकेपछि मानिस तथा वातावरणलाई असर नपुु¥याइ राख्नुपर्ने महत्त्वपूर्ण कुरा रहेछ । हामीले ती कुरालाई व्यवस्थापन गरेका छौँ।’
उचीत व्यवस्थापनकै कारण धनकुटाको फोहोरको थुप्रोमाथि बनेको सुन्दर पार्क अहिले नगरको आम्दानीको स्रोत बनेको छ। यहाँ ४० बढी जातका फूलहरू छन् । अहिले दर्जनौँ पर्यटक घुमफिरका लागि आउने गरेका छन्। यसलाई नगरले गौरवको परियोजनासँग जोडी यसको अझै विकास र विस्तार गर्ने लक्ष्य स्थानीय सरकारले लिएको छ।
कुहिने फोहोरबाट मल, नकुहिने फोहोरबाट मोहोर
धनकुटाको ल्याण्डफिलमा ३० रोपनी क्षेत्रफलमा ०६६ सालदेखि फोहोर व्यवस्थापनको शुरु गरिएको हो। धनकुटा–६ सल्लेरीमा रहेको यो ल्याण्डफिल साइट अहिले धनकुटाको शान बनेको छ।
०७३ सालमा यसको व्यवस्थापकीय सफलताले धनकुटा सबैभन्दा सफा नगरमा नेपालकै दोस्रो नगर भयो। नगरपालिकाले सरकारबाट ७ लाख पुरस्कार पायो। २०७४ सालमा नेपालमै प्रथम भयो र १० लाख पुरस्कार पायो।
धनकुटा सफा देखिनुमा गाडी आएपछि मात्रै फोहोर निकाल्ने नियम भएर हो। धनकुटाको ल्याण्डफिल साइटमा नकुहिने फोहोर मात्रै पुग्छ। नकुहिने फोहोरमा प्लास्टिक, फलाम, सिसा र अन्य ठोस वस्तु पर्छन् । त्यी सामग्रीहरू पुनः प्रयोग गर्न सकिन्छ। धनकुटामा दैनिक १२ टन फोहोर उत्पादन हुन्छ। आधा कुहिने फोहोर घरमै व्यवस्थापन हुन्छ । बाँकी नकुहिने ६ टन मात्रै उठाएर ल्याण्डफिल साइटमा लगिन्छ।
पुनः प्रयोग गर्न सकिने सामग्रीबाट ल्याण्डफिल साइटले वार्षिक ४० हजार कमाउँछ। यहाँबाट पुनः प्रयोग हुने सामग्री टिपेर कौशल थापा थप कमाउँछन्। उनले यहाँ १० जनालाई रोजगारी दिएका छन् ।
नकुहिने फोहोर पुनः बेचेर व्यवस्थापन गरेपछि धनकुटाको ल्याण्डफिल साइटमा भार पनि कम परेको छ। कुहिने फोहोरको व्यवस्थापन पनि धनकुटाले दुई तरिका अपनाएको छ। गाईबस्तुले खाने कहिले फोहोर खोलेको रूपमा प्रयोग गरेर व्यवस्थापन हुन्छ । अरू फोहोहरु भने कौसीखेती गर्न र करेसाबारीमा हाल्न प्रयोग हुन्छ । जसले गर्दा ल्याण्डफिलमा दुर्गन्ध पुग्दैन।
धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकादत्तराई राई नगरपालिका यो स्थानसम्म आइपुुग्नुुमा नगरको अग्रसरता र सर्वसाधारणको सहयोग नै रहेको बताउँछन्।
ल्याण्डफिलका पुनः प्रयोग हुन मिल्ने सामग्री उठाएपछि ल्याण्डफिलको आयु पनि बढ्ने र कमाइ पनि हुने राम्रो विकल्प भएको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ बताउँछन्।





