काठमाडौं– बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे तीव्र बहस भइरहेका बेला नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको फरक धारणा सार्वजनिक भएकाे छ।
संस्कृति, पर्यट
न तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी निजगढकाे कुनै बिकल्प नरहेको सार्वजनिक रुपमा बताइरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसका नेता कोइरालाले सर्लाहीको सागरनाथलाई विकल्पको रुपमा सारेका हुन्।
निजगढमा पहिलो चरणमा ७ लाख ६९ हजार रुख कटान गरेर विमानस्थल बनाउन सरकारले प्रक्रिया अगाडि बढाएका बेला नेता कोइरालाले सागरनाथमा रहेको करीब ३ हजार बिघा खाली जग्गामा विमानस्थल बनाइनु उपर्युक्त हुने बताएका हुन्।
बाराको कोहल्बी नगरपालिका–८ र जितपुर सिमरा उपमहानगरपालिका–१ मा पर्ने ८ हजार ४५ दशमलव ७९ हेक्टर क्षेत्रमा विमानस्थल निर्माणका लागि ९ जेठमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको छ। जसमध्ये सात हजार नौ सय ६९ हेक्टरमा वनजंगल र बाँकी क्षेत्रमा बस्ती छ। इआइए प्रतिवेदन अनुसार पहिलो र दोस्रो चरणमा गरी विस्तार हुने विमानस्थलका लागि साढे २४ लाख रुख कटान गर्नुपर्नेछ।
६ दिने चीन भ्रमणमा जाने क्रममा बुुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा धेरै रुख काट्न नहुने धारणा राखेका हुन्।
विमानस्थल निर्माणका लागि २४ लाख रुख काट्ने खबरले सबैको ध्यान आकृष्ट गरेको उल्लेख गर्दै कोइरालाले मधेसमा एकै पटक यति धेरै रूख काट्दा वातावरणीय असर गर्ने र यसले भयाबह अवस्था निर्माण गर्नेतर्फ पनि सबै सजग हुनुपर्ने औंल्याए।
विमानस्थल क्षेत्रमा २४ लाख ५० हजार ८ सय २१ रुख रहेको ईआईएमा उल्लेख भएपनि पहिलो चरणमा २ हजार ५ सय ५६ हेक्टरका ७ लाख ६९ हजार रूख कटान गर्नुपर्ने छ । जुन क्षेत्रमा विमानस्थल बन्नेछ, दोस्रो चरणमा विमानस्थल शहरको योजना छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो चरणमा रूख कटानका लागि २१ असारमा वन तथा वातावरण मन्त्रालयमा कार्ययोजना पेश गरेको थियो। तर, वन मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा पेश नगर्दा रुख कटानको बाटो खुलेको छैन।
नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७४ भदौमा निजगढ विमानस्थल निर्माणका निम्ति रुख कटान गर्ने तथा विमानस्थल निर्माण क्षेत्रमा चक्रपथ निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिइसकेको छ। सेनाले दुई वर्ष भित्रमा सवै काम सम्पन्न गर्ने छ। जसको लागि सरकारले यसवर्ष मात्रै १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
विमानस्थलको लागत ६ सय ५६ करोड अमेरिकी डलर अनुमान गरिएको इआइए प्रतिवेदनमा उल्लेख छ।





