काठमाडौं–उपत्यकामा खुला स्थानको अभाव छ। भएका खुला स्थान पनि व्यवस्थित छैनन्। यात्राको क्रममा थकान मेटाउन विश्रामस्थल छैनन्, बिहानबेलुका टहलिन चौर छैनन् ।
उहिले गाउँशहरमा विश्राम गर्न ठाउँठाउँमा चौतारी तथा फल्चा बनाइन्थ्यो। तर चौतारीमा छायाँदार वरपिपल रोपिएको हुन्थ्यो । अहिले काठमाडौंमा चौतारी विरलै देखिन्छन् भएका पार्क (बगैचा) पनि व्यवस्थित छैनन्।
खुला क्षेत्र विपत्का बेला पनि आवश्यक पर्छ। १२ वैशाख २०७२ को भूकम्पका क्रममा यहाँका कतिपयको बासस्थान टुँडिखेल बनेको थियो– महिनौंसम्म। खुला स्थानको आवश्यकता र महत्व बढ्दै गएपनि संघ, प्रदेश र स्थानीय सरकारले चाँसो दिएको पाइँदैन।
खुला ठाउँको आवश्कता किन पर्छ ? यसबारे उपत्यकाबासीको प्रतिनिधिमूलक भनाइ लिएका छौं।

काठमाडौं पूरै कक्रिंटमय बनिसकेको छ। जहाँ त्यही कंक्रिटको प्रयोग भैरहेको छ। कहिँकतै खुला ठाउँ छैन। अहिले काठमाडौंमा भूमिगत पानीको अभाव दिनप्रतिदिन बढ्दै गएको छ। बर्खामा परेको आकाशे पानी जमिनले सोसेर लिन्छ।
तर, कालोपत्रे गर्नसाथ सफा हुन्छ, भन्ने मानसिकताले भूमिगत पानी सुक्दै गैरहेको छ।
सरकारले ठाउँठाउँमा खुला स्थानको पहिचान गरी त्यस्ता ठाउँमा वुक्षरोपण गरेर सुन्दर र सफा शहर बनाउनुपर्छ। खुला स्थान बालबालिकालाई खेल्न, युवायुवतीलाई रमाइलो गर्न, व्यायाम गर्न तथा वृद्धवृद्धाका लागि टहलिने स्थल र विश्राम गर्न ठाउँ मात्र होइन। नेपाल भूकम्पीय जोखिममा छ । कुनै पनि बेला भूकम्प लगायतका विपद् आउन सक्ने भएकाले खुलालाई सुरक्षित स्थानको रुपमा लिन सकिन्छ।
खेलमैदान छैन : संगीता ताम्राकार

खुला ठाउँ नहुँदा बच्चाहरू खेल्न पाउँदैनन्। खेलमैदान छैन। उनीहरूलाई कोठाभित्र वा सीमित स्थानमा खेल्न भन्छौं। जसले सानो ठाउँमा खेल्दा दुर्घटना पनि हुन्छ।
यहाँका भित्री सडकहरू एकदमै ससाना त्यसमाथि कुनै घरमा आगलागी भएमा वा विपत् पर्दा पनि भागेर ज्यान जोगाउने खुला स्थान छैन।
खुल्ला स्थानको आवश्यकता महसुस गरेका छौं : श्याम महर्जनसबैको यातायातका स्रोतसँग पहुँच पुग्दैन। सबैसँग गाडी छ, भन्ने पनि हुँदैन। उपत्यकाभित्रै त्यस्ता धेरै ठाउँ छन् जहाँ सार्वजनिक यातायात पुग्दैन।
त्यस्ता ठाउँमा हिँडेरै जानुपर्ने हुन्छ। हिँडेर जादा महिला, गर्भवती, बालबालिका तथा बृद्धा हिँड्न सक्दैनन्। कुनै खुला स्थानमा आराम गर्न, छहारी तथा हरियाली जस्ता ठाउँ हुनुपर्छ। अहिले त्यस्ता ठाउँहरू खासै देखिदैनन्। सडकका छेउछाउमा पनि स–साना रूखविरूवा रोपर आराम गर्न ठाउँ बनाउनु पर्छ।
भएका खुल्ला स्थानको पनि व्यवस्थापन हुनसकेको छैन : पशुराम केसी
काठमाडौंमा खुला ठाउँ हुन अति आवश्यक छ। व्यस्त र भीडभाड हुने उपत्यकाका विभिन्न ठाउँमा ससाना चौतारी जस्ता आराम स्थल बनाउनुपर्छ। सबै यात्रु यातायातको साधन प्रयोग गर्छन् भन्ने छैन। हिँडेर आयो कतै आराम गरौं भने ठाउँ छैन।
शिलतमा बसौंं भनो छहारी दिने रूख छैन। सडकमै घाममा बस्ने कुरा हुँदैन। बस्न र शितलताका लागि होटलतिर पस्नै पर्ने बाध्यता छ। फेरि अहिले धेरै पार्कहरू व्यवस्थित छैनन्। बुढापाका गएर बस्ने खुला ठाउँ छैन जस्तो लाग्छ।
अब सकारले खुला स्थानमा पार्क बनाउँदा हरियालीयुक्त बृद्धा, बालबालिका, अपांगता भएका व्यक्तिले पनि गएर आराम गर्न खालको हुनुपर्छ।
खुला स्थानको संरक्षण र व्यवस्थापनमा जोड दिनुपर्छ : विवेचना विष्ट 




