फोहोर व्यवस्थापन गर्ने काइदाको उपाय

काठमाडौं– फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा शहर, बजार मात्र होइन ग्रामीण क्षेत्रपनि दुर्गन्धित र प्रदूषित बन्दै गएका छन्।

पुराना कागज, बाेतल लगायतका बस्तुबाट बनाइएका सजावटका सामग्री। तस्बिर : अमिष रेग्मी

फोहोरमैला व्यवस्थापनको समस्या काठमाडौं उपत्यकासहित देशका अन्य क्षेत्रमा पनि दिनप्रतिदिन बढ्दै गएको छ। फोहोरको उचित व्यवस्थापन र पुनः प्रयोग गर्न नसक्दा बेलाबेलामा सडकका चोकचोकमा फोहोरको डंगुर थुप्रिने गरेको छ।

हाल स्थानीय तहमा जनप्रतिनिधि आएपछि फोहोर व्यवस्थानका लागि केही पहल हुँदै आएको छ। जसमध्येको एउटा हो काठमाडौं उपत्यकाको कीर्तिपुर नगरपालिका।

कीर्तिपुरले १० वटै वडाका २६ महिलालाई फोहोरबाट विभिन्न सामग्री बनाउने १० दिने तालिम दिएको थियो। तालिम पश्चात नगरपालिकाका महिला फालिएका फोहोर संकलन गर्न जुटे।  नसड्ने तथा पुनः प्रयोग हुने फोहोरबाट मोहोर बनाउन सकिन्छ भन्दै यहाँका महिलाले फोहोरबाट विभिन्न आकर्षण सामग्री बनाउन थालेका छन्।

‘पहिला फोहोर कहाँ फाल्ने भन्ने समस्या हुुन्थ्यो,अहिले फोहोरबाट पनि विभिन्न सामग्री बनाउन थालेका छौंं,’ कीर्तिपुर नगरपालिका वडा नम्बर ६ की बसन्ती केसीले भनिन्।

वडा नम्मर ६ कै उषा थापामगर पनि आजभोलि विभिन्न प्रयोजनका लागि घरमा ल्याएर फ्याक्नुुपर्ने अवस्थामा रहेका पत्रपत्रिका, दूध, तेलका प्लास्टिकका झोला सुरक्षित राख्छिन्। पहिले त्यसै फ्याँक्ने गरेकोमा अचेल विभिन्न सजावटका सामग्री बनाउने गरिएको उनले बताइन्।

‘मैले सोचेको पनि थिएन । फोहोरबाट पनि यति राम्रा सामग्री बनाउन सकिन्छ भनेर,’ उनले भनिन्, ‘आजभोलि घरको काम सकिएपछि बचेको समयमा फोहोरबाट सामग्री बनाउन थाल्छु ।’

 

 

त्यसैगरी वडा नम्बर १ की सानुमैया अवालेले पनि बचेको समयमा सोही काम गर्ने बताउँछिन् । ‘फोहोरलाई न्यूनीकरण गर्न र यसको पुनः प्रयोग पनि गर्न सकिन्छ भन्ने सन्देश दिन पनि हामीले फोहोरबाट विभिन्न सामग्री बनाएका हौं,’ उनले भनिन्।

सोही वडाकी सुशीला चित्रकारले फोहोरबाट सामग्री बनाउन थालेको १ वर्ष भयो। उनले फालिएका प्लास्टिक, बोतल, पत्रपत्रिका लगायतका वस्तुबाट करुवा, झुम्का, क्रिरिङ, फलदानी ठेकी लगायतका सामग्री बनाउँदै आएकी छिन्।

तर, फोहोरबाट बनेका सामग्रीले बजार नपाउँदा भने उनी निराश हुन्छिन्। ‘कसैले अडर दिएपछि मात्र बनाउछु,’ उनले भनिन्, ‘यसको बजार छैन । यस्ता सामग्री बजार पाएमा पैसा मात्र होइन वातावरण स्वच्छ गर्न ठूलो भूमिका खेल्छ।’

 

वडा नम्बर १ का वडा अध्यक्ष हर्ष महर्जनले चैतदेखि कीर्तिपुरमा प्लास्टिक न्यूनीकरण अभियान सञ्चालन गरिएको बताए।

‘नगरपालिकाले कीर्तिपुरमा फोहोरमैला व्यवस्थापन गर्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ,’ उनले भने। नगरपालिकाले जथाभावी फोहोर फाल्नेसँग पाँच सयदेखि एक हजार पाँच सय जरिवाना पनि असुल गर्दै आएको छ।

कीर्तिपुर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि चार निजी कम्पनीसँग सम्झौता गरिसकेको छ। ती कम्पनीले फोहोर व्यवस्थापन बापत एउटा घरबाट मासिक एक सय ५० रुपैयाँ लिने गरेका छन्। नगरपालिकाले कसैले फोहोर सडकमा नफालुन भनेर नगरका विभिन्न ठाउँमा २० वटा सिसि टिभी समेत जडान गरेको छ ।

यसैबीच, नगरपालिकाले २२ र २३ भदौमा ‘स्वच्छ कीर्तिपुर प्रवद्र्धन मेला–२०७५’ पनि आयोजना गरेको थियो।

फोहोरबाट सजावटका सामग्री (फोटो फिचरसहित)

ताजा समाचार

सम्बन्धित समाचार