Thursday, October 3, 2024

नेपाल–चीन पारवहन सम्झौतामा नफुकेको ‘गाँठो’

काठमाडौं–दुई वर्ष अघि भएको नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिन बुधबारबाट काठमाडौमा दुई देशका उच्च अधिकारीको बैठक शुरु भएको छ।

सो प्रोटोकलको मस्यौदा आदानप्रदान भइ काठमाडौं र बेइजिङमा विभिन्न चरणको वार्ता भएपनि केही महत्वपूर्ण विषय टुंगोमा पुग्न सकेको छैन।

प्रधानमन्त्री केपी ओलीको भ्रमणको समयमा सो प्रोटोकललाई छिट्टै निष्कर्षमा पु-याउने सहमति भएपनि विभिन्न विषयमा कुरा मिल्न सकेको छैन।

यस प्रोटोकलमा हस्ताक्षर भयो भने नेपालको भारतप्रतिको निर्भरता घट्न सक्नेछ, भने नेपालले चीनको बाटो भएमा समुन्द्रसम्मको पहुँच प्राप्त गर्नेछ। भारतको नाकाबन्दी लगत्तै चीनसँग गरिएको यो सम्झौतालाई ऐतिहासिक रुपमा लिइएको थियो।

जुलाईमा बेइजिङमा भएको बैठकमा केही असमझदारी देखिएपछि दुबै देशका अधिकारीले आ–आफ्नो सरकारसँग छलफल गरी पुनः वार्तामा बस्ने सहमति गरेअनुसार काठमाडौंमा बैठक बसेको हो। सरकारी अधिकारीहरूका अनुसार विशेषत नेपालले प्रयोग गर्न समुन्द्र र बाटोको विषयमा चिनियाँ अधिकारीले स्पष्ट जवाफ नदिएका कारण कुरा मिल्न नसकेको हो।

नेपालले केही बन्दरगाहहरू पहिल्याएको छ, जुन विषयमा कुराकानी भइरहेको छ। त्यसैगरी कस्तो खालको सवारी साधनको प्रयोग गर्ने र चालकको परिचय र अन्य व्यवस्था के हुने भन्ने विषयमा समेत सहमति हुन सकेको छैनन्।

त्यसैगरी अन्य यातायात र भन्सारको ‘क्लियरेन्स’ सम्वन्धी विषयमा समेत दुवै देशबीच सहमति हुन सकेको छैन। एक सरकारी अधिकारी भन्छन्, ‘हामी सबै विषय प्रोटोकलमा नै स्पष्ट रुपमा उल्लेख होस् र त्यसका लागि अन्य वार्ता गर्न नपरोस भन्ने चाहान्छौं तर, चीनले पठाएको मस्यौदामा केही विषय अस्पष्ट छन् हामी त्यसलाई स्पष्ट पार्न आग्रह गरिरहेका छौं।’

प्रधानमन्त्री ओलीले भने यो विषयमा सकेसम्म छिटो सहमतिमा पुग्न निर्देशन दिइरहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार