Friday, September 20, 2024

कर्णाली पुल नजिकैकाे पर्यटकीय गन्तव्य : जसले बाटो र खानेपानी खोज्दैछ

धनगढी–राजकाँडाबाट प्रदेश ७ को धेरै जसो मनोरम दृष्य देख्न पाइन्छ। तर, कैलालीको चिसापानीबाट राजकाँडासम्म पुग्ने ६ किलोमिटर ठाडो उकालो र चिप्लो बाटो नै प्रमुख चुनौती हो । जसोतसो त्यहाँ पुगेपनि पिउने पानी पाइन मुस्किल हुन्छ।

स्थानीय डम्बर बुढा राजकाँडाको सम्भानालाई उजागर गर्न पहिलो प्राथमिकतामा बाटालाई राखेर निर्माण गरिनुपर्ने बताउँछन्। बाटोसँगै खानेपानीको व्यवस्था भएमा राजकाँडामा आउने पर्यटकलाई होमस्टेको व्यवस्था गरेर स्वागत गर्न सकिने बताउँछन्।

गत असारको महिना, सिमसिम पानी परिरहेको थियो। सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार दलसिंह बिसीको मोहन्याल गाउँपालिकाको राजकाँडास्थित बगैचामा लटरम्म नासपती फलेका थिए। पाकेर झरेका नासपती बगैचा भरि छरिएका थिए। केही डोका नासपती घरको बारदलीमा थुपारिएको थियो।

राजकाँडाको पर्यटन सम्भाव्यता अध्ययन गर्न पुगेका ४० जनाको टोलीलाई बिसीले मन लागेजति खान र बोक्न सक्ने जति झोलामा भरेर लैजान अनुमति दिए। मानिस, गाई, बाख्राले खान सक्नेभन्दा बढी नासपती फलेकोले उनले त्यस्तो अनुमति दिएका थिए। बीसीले भने, ‘यहाँबाट बोकेर चिसापानी, लम्कीसम्म पुर्याउन सकिन्न । उत्तिकै कुहिएर जान्छ ।’

चिसापानीदेखि राजकाँडासम्मको चिप्लो अनि भिरालो बाटोमा भारी बोक्न सकिँदैन। जम्मा ६ किलोमिटर, दुई घण्टामा उक्लिन सक्ने बाटो भएपनि पहाडका उत्पादन तराई लगेर बेच्न र तराईबाट सामान ल्याउन कठिन छ, राजकाँडाबासीलाई। तर, पनि उनीहरुले एक दुई भारी नासपती बेच्न सकेका छन्। टोली राजकाँडाबाट चिसापानी फर्किदा राजकाँडातिर उक्लिदै गरेकी एक महिलाले ४० किलो नासपती लम्की पुर्याएर बेचेर फर्किरहेको बताइन्। उनले बगैचामा फलेको सबै नासपाती बेच्न नसकेको दुःखेसो गरिन्।

सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार दलसिंह बिसीको राजकाँडास्थित बगैचामा फलेका नासपती ।

राजकाँडामा पर्यटकीय सम्भावना मात्रै छैन, त्यहाँको मौसम जहिल्यै हिउँद जस्तै हुने भएकाले वर्षभरि काउली, बन्दा, गोलभेडा, आलु, लगायतका हिउँदे तरकारी खेती वर्षै भरि गर्न सकिने देखिन्छ। तर, बाटो नभएकाले उत्पादन भएका सुन्तला, नासपति, केरा लगायतका फलफू्लले बजार नपाएको स्थानीय डम्बर बुढाले बताए।

लम्की बजारबाट राजकाँडा हुँदै सुगरखालको कुइनेसम्म पुग्ने मोटरबाटो बन्दाबन्दै रोकिएको छ। सो बाटोको ट्रयाक राजकाँडासम्म खोलिएको छ। तर, बीचमै गएको पहिरो र कटानले सो मोटरबाटो कामै नलाग्ने भएको छ। पहिरोले बाटो नै बगेपछि मानिस समेत हिँडन कठीन भएको छ। सो बाटोमा लम्कीबाट राजकाँडासम्म १० किलोमिटर पर्छ।

बाटो बनाउने काम रोकिएपछि ट्रयाक खनेको बाटोमा समेत झार उम्रिसकेका छन्। स्थानीय अमरबहादुर खत्री चिसापानीबाट राजकाँडा जाने बाटोलाई पर्यटनका लागि टे«किङटे«ल र लम्कीदेखि कुइनेसम्मको पुग्ने मोटरबाटो बनाइदिन माग गर्छन्।

राजकाँडामा खानोपानीको पनि ठूलो समस्या छ। वर्षामा नजिकैबाट पानी खान पाइएपनि हिउँददेखि गृस्मसम्म एकदेखि डेढ घण्टा हिँडेर खानेपानी ल्याउनुपर्ने गरेको स्थानीय डम्बर बुढाले बताए। खानेपानी र बाटोको व्यवस्थाका गरिदिए आफूहरुको सम्पूर्ण समस्या समाधान भई पर्यटन विकासमा समेत सहज हुने स्थानीय कर्णबहादुर खत्रीले बताए।

राजकाँडासम्म पुग्ने बाटो नभएकाले यहाँको जमीन पनि प्रयोगमा आएका छैनन् । बाटो, विजुली, खानेपानीको अभावले गर्दा यहाँका बासिन्दाहरुले तराइँमा जग्गा लिएर बस्न थालेका छन्। बासिन्दाहरु तराईतिर झरेकाले राजकाँडाको उत्पादनशील जमीनको उचित प्रयोग नभएको राजकाँडाबाट टीकापुर बसाइसरेका रतन थापाले बताए। उनले राज्यले मोटरबाटो सहित पर्यटन मार्ग बनाउन राज्यले सहयोग गर्ने संकेत देखिएपछि राजकाँडा प्रति पुनः माया जागेको बताए ।

राजकाँडामा बाटो पुगेमा निजी क्षेत्रले समेत लगानी गरी पर्यटन विकासको काम गर्न ईच्छुक रहेको टीकापुरका होटल व्यवसायी थर्कबहादुर शाहले बताए। उनले राजकाँडामा पर्यटक ल्याउन र त्यहाँका उत्पादनलाई बजार उपलब्ध गराउन बाटो, खानेपानी र बिजुली व्यवस्था पहिलो प्राथमिकताका साथ गर्नुपर्ने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव राजेन्द्र सिग्देल पर्यटनको गुरुयोजना बनाएर जिल्ला समन्वय समिति मार्फत् प्रस्ताव आएमा चिसापानीदेखि राजकाँडासम्मको बाटोलाई सुधार गरी ट्रेकिङटे«ल बनाउन मन्त्रालयले सहयोग गर्ने बताछँछन्।

कर्णाली र भेरीको संगम : जालपादेवी मन्दिरबाट देखिएको कर्णाली र भेरीको संगम ।

पर्यटन गन्तव्यको खोजी
नेपालको पश्चिम क्षेत्र पर्यटनका लागि भर्जिन क्षेत्र हो। यहाँ पर्यटन विकासका लागि विभिन्न पहलहरु भइरहेका छन् । खप्तड, बडिमालिका, रामारोशन, घोडाघोडी, रारा, बर्दिया राष्ट्रिय निकुञ्ज, शुल्लाफाटा राष्ट्रिय निकुञ्ज जस्ता ठाउँहरुमा राज्यस्तरबाट पर्यटन गन्तव्य घोषणा भइ पर्यटन विकासका लागि आधारभूत पूर्वाधार निर्माण भइरहेका छन् र केही नयाँ गन्तव्यहरु पहिचान गर्ने काम भइरहेका छन्।

यहि क्रममा सुदूरपश्चिमाञ्चलको प्रवेशद्वार मानिएको कैलालीको चिसापानीभन्दा माथिको चुरे पहाड राजकाँडा नयाँ पर्यटन गन्तव्य हुन सक्ने सम्भावित क्षेत्रको रुपमा पहिचान गरिएको छ। पर्यटन विकासमा पछि परेको सुदूरपश्चिमको कैलाली राजकाँडालाई सम्भावित पर्यटन गन्तव्यको रुपमा पहिचान गरिएको हो। राजकाँडा कैलालीको सबैभन्दा रमणीय र उच्चो चुरे पर्वत हो। त्यही भएर राजकाँडा सुदूरपश्चिमाञ्चल क्षेत्रको नयाँ पर्यटन गन्तव्य सम्भावना छ।

चुरे क्षेत्रको सर्वाधिक उच्चो डाँडा भएकाले कैलालीको राजकाँडाबाट सुदूरपश्चिमका धेरै जसो पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ । यहाँबाट भेरी र कर्णालीको संगम, तराईमा कर्णालीको तीन भंगलो र कर्णालीका भंगालाहरुले बनाएका टापुहरु, बर्दिया राष्ट्रिय निकुञ्ज, तराइँका फाँट, भारतमा चलेको रेल, हिमश्रृंखलाहरु देख्न सकिन्छ।

हात्ती ढुंगा : सुंगरखाल–९, राजकाँडामा रहेको हात्ति जस्तै देखिने ढुंगा । किम्बदन्ती अनुसार यो हात्तिले पहाडको अनाज खाएर तराईतिर दिसा गर्ने भएकाले पहाडमा भोकमरी र तराइँमा उब्जनी राम्रो भएको भन्दै यसको सुँड पहाडका बासिन्दाले काटिदिएका थिए ।

अपि, व्यास, साइपाल हिमालको चुचुरो देखिनुका साथै सुदूरपश्चिमको प्रवेशद्वार चिसापानी, कर्णालीपुल पनि स्पष्ट रुपमा हेर्न सकिन्छ । राजकाँडाको सबै भन्दा अग्लो डाँडाबाट विश्वकै सबै भन्दा पहिलो सुर्योदय समेत देखिने गरेको स्थानीय उत्तर विष्टले बताए ।

सुदूरपश्चिमाञ्चलकै प्रवेशद्वार मानिने चिसापानी, कर्णालीपुलबाट राजकाँडा पुग्न ६ किलोमिटर उकालो चढ्नुपर्छ। ‘पर्यटकीय क्षेत्र चिसापानी कर्णाली पुलबाट दुई घण्टा उकालो हिंडेपछि आउने राजकाँडाको सितल वातावरणले थकान मात्रै मेटाउँदैन।

यहाँको सितल वातावरण र यहाँबाट देखिने दृष्यले एक खालको रमाइलो र आनन्दको अनुभुति गराउँछ,’ राजकाँडा पर्यटन सम्भाव्यता अध्ययन भ्रमणको क्रममा राजकाँडा पुगेका पत्रकार गणेश चौधरीले भने, ‘तराइमा ४४ डिग्रीसेल्सियस तापक्रम भएको बेला यहाँको तापक्रम बढिमा २० डिग्रीसेल्सियस हुन्छ । यहाँ चलिरहने बतासले सधैं सितलता प्रदान गरिरहन्छ ।’

राजकाँडा प्राकृतिकसंगै धार्मिक र ऐतिहासिक दृष्टिकोणले समेत महत्वपूर्ण छ । राजकाँडामा रहेको हात्ती आकारको ढुंगा छ । जसलाई स्थानीयले हात्ती ढुंगा भनेर चिनाउने गरेको छन् । त्यही हात्तिले आहाल बसेको भनेर चिनिने सानो ताल समेत छ । हात्ती ढुंगाको आफ्नै खाले कथा र महत्व छ । त्यहाँबाट करिब १० मिनेट हिंडेपछि जालपादेवीको मन्दिर छ।

जाहाँ हरेक वर्ष मेला लाग्ने गरेको छ । त्यसको केही पर धुलिकोटे राजाको प्राचीन दरबार छ । तर हात्ती ढुंगा, ताल, मन्दिर र धुलिकोटे राजाको दरबार संरक्षण हुन सकेको छैन । दरबारको त अवशेष मात्रै बाँकी रहेको स्थानीय अमर खत्रीले बताए।

राजकाँडाको पर्यटन सम्भावना कैलालीका व्यवसायीहरुको नजरमा पनि परेको छ। सुर्खेतको गाइनेकाँडादेखि राजकाँडासम्म केबुलकार पुर्याउने पहल पनि गरेको चिसापानी बृहत्तर विकास समितिका अध्यक्ष सूर्य थापाले बताए। उनले नैनीताल, सराङकोट, नगरकोट भन्दा राम्रो स्थान रहेको बताए । उनले प्याराग्लाइडिङको समेत सम्भावना रहेको बताए । चिसापानीबाट पर्यटकहरु दुई घण्टामा टे«किङ गरेर आउन सक्ने उनले बताए।

नेपाल पर्यटन बोर्डले राजकाँडामा पर्यटन सम्भाव्यता अध्ययन गरेको छ। राजकाँडाको पर्यटन सम्भाव्यता अध्ययन गरिसकेपछि ऐतिहासिक, धार्मिक, अर्गानिक खाना तथा वातावरण र दृष्यावलोकनका लागि सम्भावना रहेको उपसचिव सिग्देलले बताए।

उनले राजकाँडामा पर्यटक ल्याउन चिसापानीबाट आउने बाटोलाई ट्रेकिङट्रेल बनाउनुका साथै लम्कीदेखि आउने १० किलोमिटर बाटोलाई कालोपत्रे गर्दा उपयुक्त हुने बताए। सिग्देलले यहाँको स्थानीय निकायले पर्यटन विकास गुरुयोजना बनाएर मन्त्रालय र पर्यटन बोर्डमा आउन आव्हान समेत गरे।

कैलालीको पूर्विक्षेत्रमा मात्रै राजकाँडा लयागत चिसापानीको कर्णाली पुल, कर्णाली नदीमा ¥याफ्टिङ, विभिन्न नदीमा वर्षायाममा देखिने डल्फिन, टीकापुर पार्क, घोडाघोडी लगायतको क्षेत्रलाई जोडेर यहाँ एउटा पर्यटन प्योकज नै बनाउन सकिने डल्फिन संरक्षणका काम गरिरहेका विजयराज श्रेष्ठले बताए।

राजकाँडाको पर्यटीय सम्भावनालाई विकास गरी यहाँ पर्यटकलाई आवश्यक पुर्वाधार निर्माण र प्रचारप्रसार गर्न सकेमा पर्यटकहरुले सुदूरपश्चिमको प्रवेशद्वारमै मात्रै दुई घण्टा ट्रेकिङ गरेर सुन्दर सुदूरपश्चिमको नमुना देख्न पाउने चिसापानी क्षेत्र पर्यटन विकास तथा प्रबद्र्धन समितिका अध्यक्ष भीमबहादुर केसीले बताए ।

विकासका लागि पहल

राजकाँडाको पर्यटन सम्भावना र चूनौतिहरु अध्ययन गरी त्यसको विकासका लागि औपचारिक रुपमा पहल शुरु भएको छ।
नेपाल पर्यटन बोर्डको आयोजना र सांसद तथा स्थानीय राजनीतिक दल र निजी क्षेत्रको पहलमा राजकाँडाको पर्यटन सम्भाव्यता अध्ययन गरिएको थियो । सो अध्ययनपछि राजकाँडामा हरेक वर्ष लाग्ने मेलालाई राजकाँडा पर्यटन महोत्सवको रुपमा आयोजना गर्ने र त्यहाँ भ्यूटावर बनाउन पहल भएको छ ।

नेपाल पर्यटन बोर्डले हरेक विकास क्षेत्रमा ५० लाख रुपैयाँ खर्च गरेर बनाइरहेको भ्यूटावर सुदूरपश्चिमका लागि राजकाँडामा बनाउने संकेत दिएको छ । राजकाँडा भ्रमणकै क्रममा नेपाल पर्यटन बोर्डका योजना प्रमुख राजेन्द्र सिग्देलले स्थान एकीन नभएपनि सुदूरपश्चिमका लागि अन्य स्थान भन्दा राजकाँडा उपयुक्त हुने बताए ।

चिसापानी क्षेत्र पर्यटन प्रबद्र्धन तथा विकास समितिका अध्यक्ष भीमबहादुर केसीले यस क्षेत्रको पर्यटन विकास गर्नका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने बताएका छन् । राजकाँडासम्म पुग्न चिसापानीबाट पैदलबाटो र लम्कीबाट मोटरबाटो बनाउदा उपयुक्त हुने देखिएको बताउँदै केसीले योजनामा पारेर त्यहाँ पुग्ने बाटो निर्माण गर्न पहिलो काम गर्ने बताए ।

हात्ती ढुंगा : सुंगरखाल–९, राजकाँडामा रहेको हात्ति जस्तै देखिने ढुंगा । किम्बदन्ती अनुसार यो हात्तिले पहाडको अनाज खाएर तराईतिर दिसा गर्ने भएकाले पहाडमा भोकमरी र तराइँमा उब्जनी राम्रो भएको भन्दै यसको सुँड पहाडका बासिन्दाले काटिदिएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार