Monday, September 30, 2024

बल्ल सकियो धान रोपाइँ

काठमाडौं–गत वर्षको तुलनामा यस वर्ष बढी धान रोपाइँ भएको छ। साउन अन्तिम लाग्दा देशभर ९५ दशमलव ४० प्रतिशत धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

समयमा नै मनसुन सक्रिय भएकाले किसानले धान रोपाइँ गर्न पाएका हन्। तराईका केही जिल्लाहरुमा भने उल्लेख्य पानी नपर्दा रोपाइँ प्रभावित भएको थियो। तर, साउन दोस्रो हप्ताबाट पानी परे लगत्तै तराईका किसानलाई राहत मिलेको मन्त्रालयले जनाएको छ।

यो वर्ष मनसुन चाँडै सुरु भएको कारण गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ सन्तोषजनक भएको मन्त्रायलयका सूचना अधिकारी शंकर सापकोटाले जानकारी दिए। नेपालमा जुन ८ बाट मससुन शुरु भएको थियो। गत वर्ष यो समयमा ८९ दशमलव २२ प्रतिशत मात्र धान रोपाइँ भएको थियो।

यो वर्ष धान रोपाइँमा वृद्धि भएकाले धान उत्पादन राम्रो हुने मन्त्रालयले विश्वास लिएको उनले बताए। यो वर्ष मध्य र पश्चिम भेगमा ९६ प्रतिशत धान रोपाइँ भएको छ। तराईमा ७१ प्रतिशत,पहाडमा २५ र हिमालमा ४ प्रतिशत धान उत्पादन हुँदै आएको मन्त्रालयको तथ्यांक छ।

देशको खेतीयोग्य जमिनमध्ये ५० प्रतिशतमा सिँचाइको व्यवस्था छ । २५ प्रतिशतमा खोलाको पानी र बाँकी २५ प्र्रतिशत खेती आकासे पानीको भरपर्नु पर्छ।

गत वर्ष बाढीका कारण तराईका ३१ जिल्लाका दुई लाख ३६ हजार १ सय ३१ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा असर गरेको थियो। जसमध्ये ४७ हजार २ सय २६ हेक्टर क्षेत्रफलमा धानबाली पूर्णरुपमा नस्ट भएको मन्त्रालयको तथ्यांक छ।

नेपालमा १५ लाख ५२ हजार हेक्टरमा जमिनमा धान खेती हुँदै आएको छ। नेपाललाई आगामी २ वर्षभित्र धानमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ। जसअनुसार सरकारले यो वर्ष ५५ देखि ५६ लाख र अर्को वर्ष ५८ लाख मेट्रिकटन धान उत्पादन गर्ने लक्ष्य लिएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार