Monday, September 30, 2024

किङ कोब्राको पनि ‘डीएनए’

काठमाडौं–सर्पको राजा ‘किङ कोब्रा’ (राजगोमन) को आणुवांशिक गुण (डीएनए) परीक्षण शुरु गरिएको छ। वंशाणुगत अवस्थिति, त्यसमा भइरहेको र हुन सक्ने सम्भावित परिवर्तन पत्ता लगाउन डीएनए परीक्षण शुरु गरिएको हो।

फरक भूगोलमा हुर्के बढेका कोब्राका समानता-भिन्नता बुझ्न र अन्य वस्तुस्थिति पत्ता लगाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्वीकृतिमा ‘स्नेक कन्जरभेसन सोसाइटी नेपाल’ले चासो बढाएको हो। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा कोब्राको डीएनए परीक्षण गरिएको हो। यस्तो अध्ययन मुलुकमै पहिलो भएको दाबी गरिएको छ।

त्यहाँको प्रारम्भिक अध्ययन-अनुसन्धानले नेपालको तराई र मध्य पहाडी भेगका किङ कोब्राको जिनमा समानता पाइएको छ। ‘पोखरा उपत्यका र पूर्वी तराईका किङ कोब्राको जिनमा पूर्ण समानता पाइएको छ’, सोसाइटीका अध्यक्ष महेन्द्र कतिलाले  भने, ‘अध्ययनको विस्तृत रिपोर्ट केही दिनमा आउँदै छ।’ उनलाई सघाइरहेका छन् नर्वेबाट ‘एप्लाइड इकोलोजी’ विषयमा एमफिल अध्ययन गरेका पूर्ण आलेले।

नेपालको प्रारम्भिक अध्ययन र विगतका अन्तर्राष्ट्रिय रिपोर्ट तुलना गर्दा थाइल्यान्ड र नेपालका कोब्राको जिन ९८ प्रतिशत समानता पाइएको आलेले बताए। ‘जीवजन्तुको डीएनए परीक्षणका क्रममा कानुनी अन्य प्रक्रिया पूरा गर्दा धेरै समय लाग्छ, सर्पको जिन र अन्य पक्षको सूक्ष्म अध्ययनले झनै लामो अवधि लिन्छ,’ उनले भने। विधि विज्ञान प्रयोगशालामा गत वर्षदेखि जीवजन्तुको पनि डीएनए परीक्षण शुरु भएपछि सोसाइटीले कोब्राको विस्तृत पक्ष केलाउन चासो लिएको हो।

सो प्रयोगशालाका प्रमुख वैज्ञानिक अधिकृत एवं डीएनए विज्ञ दिनेश झाका अनुसार कोब्राको काँचुली र कत्लासहितको छाला परीक्षण गर्दा जिनमा समानता पाइएको छ। काँचुली पूर्वी तराई र कत्लासहितको छाला मध्य पहाडी भेगको हो। नेपालका कोब्रा अन्य मुलुकका भन्दा केही पृथक् रहने सक्ने प्रारम्भिक अध्ययन रिपोर्टले देखाएको झाले जानकारी दिए।

नेपालमा हालसम्म ८० भन्दा बढी प्रजातिका सर्प अभिलेख गरिएको छ, अन्य प्रजातिमध्ये कोब्रा पृथक् स्वभावको हुन्छ। पन्छीले झैं झारपात संकलन गरेर भुइँमा गुँड बनाएर बस्छ भने गुँडमै अण्डा कोरल्ने गर्छ। अन्य प्रजातिका सर्पभन्दा लामो र धेरै अण्डा पार्ने भएकाले विज्ञहरु यो प्रजाति अध्ययनबारे चासो लिन्छन्। बेलायतको चिडियाखानामा १८ फिट र नेपालमा १४ फिटसम्मको कोब्रा अभिलेख भएको छ।

विषालु सर्प, अन्य सरिसृप, मुसा यसका मुख्य आहरा भएकाले पारिस्थितिक प्रणाली सन्तुलनमा राख्न यो सर्पको भूमिका महत्वपूर्ण रहेको विज्ञहरु बताउँछन्। तराईका अतिरिक्त नेपालको ३ हजार मिटरका हाराहारीको भू–भागमा पनि किङ कोब्राको चहल–पहल पाइएको सर्पविद् प्राध्यापक करणबहादुर शाहले जानकारी दिए। एसियाका अधिकांश मुलुकमा किङ कोब्रा अभिलेख भएको र एसियाली क्षेत्रका कोब्रा एउटै प्रजातिका रहेका उनले बताए।

(साभार : नेपाल समाचारपत्रबाट)

ताजा समाचार

सम्बन्धित समाचार